काठमाडौं । नेपाली समाज अहिले उद्वेलित भएको छ । राजनीतिक दलका शीर्ष नेताहरुमाथि विष बमन भइरहेको छ । शीर्ष नेताहरुको आक्रोसकै कारण व्यवस्थामाथि प्रश्न उठाउनेहरुलाई बल पुगेको । यस्तो बेलामा नेताहरु संयमित भएर जनताको चाहनाअनुसार काम गर्नुपर्ने हो । तर त्यसो नगरी जनतालाई भड्काउने काम गरिरहेका छन् ।
नेता नेपाली समाजका अगुवा हुन् । तर तिनै अगुवाहरुले नागरिकलाई भड्काउने काम गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई प्रश्न सोध्ने पत्रकारलाई वाईसीएलका कार्यकर्ताले कुटेका छन् । पत्रकारलाई कुटपिट गर्न रोक्नुपर्ने दाहालले त्यसो नगरी उल्टै थर्काउने काम गरेका छन् ।
प्रज्ञा भवनमा आयोजित वाईसीएलको कार्यक्रममा रिपोर्टिङका लागि पुगेका थिए एनपीएल प्रेसका सञ्चालकसमेत रहेका पत्रकार सुरज खड्का । सो कार्यक्रममा प्रचण्ड आउने क्रममा आफूले प्रश्न सोध्न खोजेको उनले बताए ।
‘उहाँ गाडीबाट झरेर हलभित्र पस्ने क्रममा मैले प्रश्न सोध्ने प्रयास गरेको थिएँ, तर प्रचण्डले फर्केर गाली गर्नुभयो’, उनले सुनाए, ‘यो प्रश्न सोध्ने टाइम हो ? भनेर प्रचण्डले गाली गरेरेलगत्ते वाइसीएलहरु ममाथि खनिए ।’ आफूलाई एउटा कोठाभित्र लगेर थुनेको सुरजको भनाइ छ ।
‘करिब २०–२५ जना तिघ्रे मुङ्ग्रे थिए, कोठाभित्र थुनेर मलाई कुटे’, उनी भन्छन्, ‘कसैले टाउकोमा मुक्का हाने, कसैले ढाडमा लात्ति हाने । मेरो मोबाइल पनि खोसे ।’
प्रचण्डलाई प्रश्न सोध्ने प्रयास गर्दा दुई दिनभित्र दुईजना कुटिएका छन् । शनिबार मात्रै नुवाकोटको एक विद्यालयको कार्यक्रममा प्रचण्डलाई प्रश्न सोध्न खोजेका एक राजावादी युवकमाथि माओवादी कार्यकर्ताले हातपात गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल अहिले प्रमुख प्रतिपक्षी दलको नेता हुन् । सरकारले कुनै गलत काम गरेमा त्यसको खबरदारी गर्नुपर्ने दायित्व उनको हुन्छ । तर दाहाल त्यसतर्फ नलागी सरकार ढाल्ने खेलमा छन् । उनी आफूलाई संयमितसमेत बनाउन सकेका छैनन् । कहिले पत्रकार तथा कहिले सर्वसाधारणलाई कुटटि गर्दै उनले जनस्तरमा विश्वास गुमाउँदै गएका छन् ।
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नागरिकलाई भड्काउने अभिव्यक्ति दिँदै आएका छन् । कहिले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको पूजा गर्ने गरेका छन् त कहिले उनैलाई गाली गरिरहेका छन् । जुनसुकै देशमा पनि राष्ट्रनिर्मातालाई सम्मान गर्ने चलन छ । तर नेपालमा प्रधानमन्त्री ओलीले स्वयम्ले शनिबार एक कार्यक्रममा पृथ्वीनारायण शाहको विरोध गर्नुभयो । जबकी यसभन्दा अघि उहाँले शाहकै शालिकमा गएर पूजा गर्नुभएको थियो ।
पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्माता हुन् भननेमा दुईमत छैन । उनलाई सबैले सम्मान गर्नुपर्छ । तर राजनीतिक स्वार्थका आधारमा एउटै व्यक्ति कहिले राम्रो त कहिले नराम्रो भन्ने प्रवृत्तिले हाम्रो नेतृत्वमाथि पनि शंका गर्नुपर्ने ठाउँ रहन्छ ।
प्रधानमन्त्री र विपक्षी दलका नेता मात्र होइन, अरु राजनीतिक दलका शीर्ष नेताहरु नै बेलाबेलामा भड्काउने अभिव्यक्ति दिँदै आएका छन् । जबकी उनीहरुकै कारण अहिले व्यवस्थामाथि प्रश्न उठिरहेको छ । राजावादीहरुको आन्दोलन चर्किंदै छ । यस्तो बेलामा संयमता अपनाउँदै जनतालाई साथमा लिएर व्यवस्थालाई बलियो बनाउन लाग्नुपर्ने नेताहरु जे पाउने त्यही गर्ने र भन्ने अवस्थामा पुगे भने देश नयाँ ध्रुवीकरणमा नजाला भन्न सकिँदैन ।









