२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

दोब्बर भाडा असुल्दै जीप व्यवसायी, १४ किमी सडकमा ८०० भाडा

दोब्बर भाडा असुल्दै जीप व्यवसायी, १४ किमी सडकमा ८०० भाडा
अ अ+ अ-

– रामचन्द्र न्यौपाने 
डोल्पा । डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमी मात्रै छ तर जीप भाडा भने सर्वसाधारणको ढाड सेक्ने छ । लकडाउनको मौका छोपी जीप व्यवसायीले चर्को भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि जिल्ला अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण ठूलो मर्कामा परेका छन् ।

कोरोना भाइरसका कारण देशको अर्थतन्त्र धरापमा परेर सबै ठाउँमा आर्थिक सङ्कट भएको अवस्थामा दुनै–सुपानी, सुपानी–दुनै, दुनै–जुफाल र जुफाल–दुनै सडकखण्डमा जीप व्यवसायीले नागरिकको ढाड सेक्ने गरी भाडा असुलेको यात्रुको गुनासो छ । सिंहदरबार गाउँगाउँमा भने पनि धेरैजसो कामका लागि सदरमुकामनै धाउनुपर्ने अवस्था नहटेको सर्वसाधारण बताउँछन् । “दुनै आउन जान गरेर भाडा मात्रै रु एक हजार ६०० तिर्नुपर्ने बाध्यता छ, अरु खाना खाजासहित जोडेर रु तीन हजार खर्च हुन्छ”, त्रिपुरासुन्दरी–१ का भरुन सार्कीले गुनासो गर्नुभयो । तराईका जिल्लामा १५० किलोमिटरसम्म यात्रा गर्न मिल्ने पैसा डोल्पामा आजभोलि १४ किमीमा तिर्नुपर्ने बाध्यता रहेको सार्कीले बताउनुभयो ।

यता जिल्ला प्रशासन कार्यालय डोल्पाले जीपमा पनि सामाजिक दूरी कायम गर्दै तीनजनासम्म नागरिक बोक्न पाउने व्यवस्था गरेको छ तर यातायात व्यवसायीले प्रशासनको नियमलाई उल्लङ्घन गर्दै छ जनासम्म यात्रु ओसार्दै आएका छन् । सामान्य अवस्थामा जस्तै छ जनासम्म यात्रु बोके पनि लकडाउनको कारण देखाउँदै भाडा भने प्रतिव्यक्ति रु ८०० लिने गरेको दुनै आउँदै गरेका यात्रु रमेश परियारले गुनासो गरे । लकडाउन हुनुभन्दा अगाडिसम्म छ जना मान्छे बोक्न पाउने र भाडादर प्रतिव्यक्ति रु ३५० कायम गरिए पनि आजभोलि आफूखुशी भाडा उठाउने गरेको उनले बताए । “डोल्पाका जीप व्यवसायीलाई नियम कानून केही नलाग्ने रहेछ, ट्राफिकले नियमन गर्न खोज्दा पनि उल्टै जाइलाग्ने गरेको देखेँ”, उनले भने । मनपरी भाडा असुल्ने जीप व्यवसायीलाई स्थानीय प्रशासनले नियमन नगर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।

ट्राफिक हैरान

डोल्पाका जीप चालकको गलत व्यवहारले सबै हैरान भएका छन् । उनीहरुले नियम विपरीत आफूखुशी जीप सञ्चालन गर्ने र कारवाही गर्न खोज्दा उल्टै जाइलाग्न थालेपछि ट्राफिक प्रहरीलाई नियमन गर्न हम्मेहम्मे भएको हो ।

“डोल्पामा काम गर्न धेरै गाह्रो छ, नियमानुसार डोल्पामा गाडी चलाउनै मिल्दैन, फेरि यहाँ रातो प्लेटले पनि धमाधम मान्छे ओसारी रहेका छन्”, ड्युटीमा खटिएका एक ट्राफिकले गुनासो गरे, “व्यावहारिकरूपमा गाडी चल्न दिइएको छ, तर पनि सुरक्षित भएर सरोकारवालाले कायम गरेको भाडा उठाउनु भनेर सम्झाउँदा पनि उल्टै चालक जाइलाग्ने गर्दछन् ।” गलत गर्ने चालक र गाडीलाई कारवाही गर्न खोज्दा जनप्रतिनिधिलाई फोन गर्न लगाएर दबाब दिने गरेकोे उनको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले महँगो गाडी भाडा लिएको विषयमा छलफल गर्ने बताए ।

कर्मचारीले गर्दा भाडा महँगियो

डोल्पामा कर्मचारीका कारण गाडी भाडादर महँगिदै गएको सर्वसाधारणले बताएका छन् । कर्मचारीले रिजर्भ गर्दा गाडीवालाले भनेअनुसारको मूल्य पाउने भएकाले सर्वसाधारण मर्कामा परेको बताइएको छ । सर्वसाधारणले निश्चित भाडामात्रै तिर्न तयार हुने भएकाले गाडीवाला सर्वसाधारणभन्दा कर्मचारी बोक्न तयार हुने नागरिकको गुनासो छ । एउटै कर्मचारीले रु चारदेखि–पाँच हजारसम्म तिरेर रिर्जभ गर्दै आएको यस सडकखण्डमा सञ्चालित जीप व्यवसायी बताउँछन् ।

प्रशासन र स्थानीय सरकार मौन

सर्वसाधारण महँगो भाडाको चरम मारमा परिरहँदासमेत स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले कुनै चासो देखाएका छैनन् । नियमन गर्ने जिम्मेवारी प्राप्त स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय डोल्पाले चासो नदिएपछि यातायात व्यवसायीले पनि मनपरी जीप भाडा असुल्न थालेका हुन् । चर्को भाडादरको मारमा सर्वसाधारण पर्दासमेत सडकले जोडिएका त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र स्थानीय प्रशासनले भाडादर नियन्त्रणका लागि भरपर्दो कदम नचालेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । भाडादरका विषयमा पटकपटक निर्णय गर्ने गरे पनि लामो समय कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।