लुम्बिनी। रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको रु ३० करोडको लगानीमा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालि’ मार्फत गत वर्षदेखि मल उत्पादन सुरु भएको थियो ।
उद्योगले प्रतिदिन दुई सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको र हाल ‘रत्नम्’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको उद्योग सञ्चालक अग्रवालले जानकारी दिनुभयो । उद्योगको आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक उद्घाटन गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
रासायनिक मलको प्रयोगबाट उत्पादन हुने खाद्यान्नका कारण नागरिक रोगी बन्ने, नयाँ नयाँ रोग देखिने गम्भीर समस्या रहेको बताउनुभयो । उहाँले प्रदेशमा मात्र हरेक वर्ष एक हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचारमा खर्च गर्नुपरेको उल्लेख गर्दै उहाँले रासायनिक मल र विषादीयुक्त खानेकुरा क्यान्सरको प्रमुख कारणका रूपमा प्रमाणित भइसकेकाले १५ वर्षभित्र लुम्बिनीलाई अग्र्यानिक प्रदेश बनाउने सङ्कल्प गरिएको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले प्राङ्गारिक मलबाट उत्पादन हुने खाद्यवस्तु तथा फलफूल विदेश निर्यात गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेशका केही पालिकालाई प्राङ्गारिक पालिकाका रूपमा घोषणा भइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्वसांसद घनश्याम यादव, प्रमोद यादव, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादवलगायतले मुलुकको ठूलो प्राङ्गारिक मल उद्योग लुम्बिनी प्रदेशमा सञ्चालनमा आउँदा किसानले मलको अभाव झेल्न नपर्ने धारणा राख्नुभयो ।
उद्योगका सञ्चालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था गरिनुपर्नेमा जोड दिँदै स्वदेशी प्राङ्गारिक मलको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो ।
उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले कोरोना सङ्क्रमणका कारण आफ्नै बुबालाई गुमाउनुपरेको स्मरण गर्दै श्रीमान् पनि सङ्क्रमित भएर अस्पताल भर्ना भएको अवस्थामा मानव स्वास्थ्य र माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक मल उद्योग सञ्चालन गर्ने निर्णय लिइएको उल्लेख गर्नुभयो । रासस










