काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुनै नसक्ने बताउनुभएको छ । गणतन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुनेगरी समानुपातिक/समावेशी शासन प्रणाली र सङ्घीयताको कुशलताका साथ अभ्यास गर्नुपन चुनौती रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले गणतन्त्र दिवस वंशीय परम्परामा आधारित निरङ्कुश र एकात्मक राजतन्त्रलाई जनताले जितेको अवसरमा मनाइने उत्सव भएको भन्दै गणतान्त्रिक व्यवस्था शासन पद्धति मात्रै नभई आमजनताको जीवनमा पनि परिवर्तनको अनुभूति हुनुपर्ने मुख्य विषय रहेको उल्लेख गर्नुभयो । जनअपेक्षाअनुरूप काम गर्न नसक्दा देखिएको निराशालाई आफ्नो स्वार्थ पूरा गर्ने अस्त्रका रूपमा प्रयोग गर्दै पश्चगामी पुन:उत्थानवादी शक्तिहरूले फेरि पनि आफ्नो ‘लुटको स्वर्ग’ फिर्ता गर्न सकिन्छ कि भनेर दुष्प्रयास गरिरहेको उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले नेपालमा गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध तथा जनआन्दोलनहरुमा आफ्नो प्राणोत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता/घाइते अपाङ्ग योद्धाहरूका साथै गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज, पत्रकारलगायत आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
“सत्र वर्षअघि आजकै दिन विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको थियो । २४० वर्षदेखि चलिआएको वंशीय परम्परामा आधारित निरङ्कुश राजतन्त्रको अन्त गरी गणतान्त्रिक व्यवस्था स्थापना गर्नु नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक परिवर्तन हो”, अध्यक्ष दाहालको भनाइ छ,“यसर्थ गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो । संविधानले निर्दिष्ट गरेअनुरूप समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता हो ।”
उहाँले आजको दिनले सबैलाई सहिदहरूले देखाएको सत्य र न्यायको बाटोमा हिँड्न तथा सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् भन्दै कामना गर्नुभएको छ ।










