काठमाडौँ । नेपालको कपडा तथा तयारी पोशाक क्षेत्रमा दिगोपन प्रवद्र्धन गर्ने उद्देश्यसहित सोलिड्यारीड्याड र नेपाल तयारी पोशाक उद्योग संघबीचको सहकार्य शुरु भएको छ ।
मंगलवार आयोजित कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले पहिले नै सम्झौता भइसकेको सहकार्य आजदेखि शुरु भएको जानकारी दिनुभएको हो । कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष पाण्डेले तयारी पोशाकलाई प्रतिष्पर्धात्मक बनाउने,त्यसबाट उत्पन्न हुने फोहोर विसर्जन, रोजगारीको सिर्जनासँगै उत्पादित वस्तुहरु विश्व बजारमा पु¥याउने र नेपालमा पनि बजारीकरणका विषयमा सहकार्य हुने बताउनु भयो । नेदरल्याण्डमा मुख्य कार्यालय रहेको उक्त संस्थाले नेपालसहित ५० भन्दा बढी मुलुकमा कृषि, तयारी पोशाक, चिया र पशुपालनका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै पाण्डेले नेपालमा भने तयारी पोशाक र चियाको क्षेत्रमा मात्र काम गर्ने जानकारी दिनुभयो । साथै तयारी पोशाकको बजारीकरणको अवस्था, ब्यापार सन्तुलन र निर्यातका विषयमा समस्या पहिचान गर्दै सरकारसँगसमेत समन्वय गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘सोलिड्यारीड्याड भन्ने एउटा अन्तर्राष्ट्रिय संस्था हो । जसले ५० वटा भन्दा मुलुकमा उहाँहरुले मिलेर कृषि, तयारी पोशाक, चिया र पशुपालनको सेक्टरमा काम गरिहेको हो । नेपालमा पनि चिया र तयारी पोशाकबाट सुरु गर्ने भनेर पहिले नै समझदारी पत्रमा हस्ताक्षर भैसकेको थियो । त्यसको बाबजुद कार्यक्रम हुन पाएको थिएन, उहाँहरु विभिन्न मुलुकबाट आज जम्मा भएर हाम्रा संस्थाका सबै सदस्य जम्मा भएर आजदेखि काम सुरु गरेका छौं । यसले विशेषगरि तयारी पोशाकलाई कसरी प्रतिस्पर्धात्मक बनाउने, त्यसबाट उत्पन्न हुने फोहोरलाई कसरी विसर्जन गर्ने, कसरी मौसमलाई खराब नगर्ने, नागरिकको रोजगार दिँदै विश्व बजारमा पुराउने र यहाँ पनि बजारीकरण गर्ने भन्ने विषयमा कसरी सहयोग गर्ने भन्ने विषय छन् । अन्तर्राष्ट्रियस्तरको मूल्यमा कसरी टाइअप गर्न सकिन्छ भन्ने हिसाबको कार्यक्रम हो । यसको मुख्य कार्यालय नेदरल्याण्डमा छ ।
आज चाहीँ खास दक्षिण एशिया हेर्ने समूह आएर विभिन्न कार्यक्रम भएको छ । हामी तत्काल कामहरु सुरु गरेर तयारी पोशाकलाई पहिलेकै अवस्थामा कसरी पुराउने भनेर उहाँहरुले पनि सहयोग गर्ने र हामीले पनि मिलेर काम गर्ने भनेर अगाडि बढेका छौं । डिसेम्बरमै सम्झौता भइसकेको थियो । तर विभिन्न कारणले यो कार्यक्रम गरेर काम शुरु गर्नुपर्नेमा चार पाँच महिनापछि । विस्तारै उहाँहरुको टिम पनि पठाउँछन् र कहाँनेर समस्या छन् त्यो समस्या पहिचान गरेर हामी दुइटै्र मिलेर सरकारसँग समन्वय गरेर तयारी पोशाकको बजारीकरण किन भएन ? विश्वमा नभइ नहुने चिज कसरी यहाँको ब्यापार घट्यो । निर्यातको हिसावमा नेपाल दोस्रो स्थानमा भएपनि तर यसलाई एक सय टाइम बढाउन सक्ने विषय हो । त्यसलाई कसरी गर्न सकिन्छ भनेर सहयोग गर्ने हो ।
निर्यातको इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा पनि यसले काम गर्नसक्छ । बजारको लागि पनि काम गर्न सक्छ, ग्रिन गार्मेन्ट भिलेजको लागिपनि काम गर्न सक्छ । यसले ब्यापार मेलादेखि इकमर्श सम्मका काममा हामीले बनाएको डिजाइनमा काम गर्नसक्छ । त्यसका लागि उहाँहरुको टीम र हाम्रो टीम बसेर छलफल हुने र सोही छलफलबाट निस्किएको निश्कर्षको आधारमा काम अघि बढ्छ । अहिले उहाँहरुले नेपालमा चिया र तयारी पोशाकसँगमात्र गर्ने भनेर सुरु गर्नुभएको छ । पहिला तयारी पोशाकको केही अगाडी बढेपछिमात्रै अर्को स्टेप चाल्ने भन्ने उहाँहरुको कुरा छ ।’
उहाँले संघ र संस्थाका प्रतिनिधि बसेर हुने छलफलबाट निस्किएका निष्कर्षको आधारमा काम अघि बढाइने जानकारीसमेत दिनुभयो ।











