५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्खा लाग्यो: डरै डरमा मनाङवासी



अ+ अ-
मनाङ । हिमाली क्षेत्रमा पानीपर्दैन भन्ने कथन पछिल्लो समय फेरिएको छ । विगतमा पानीको आवश्यकता नै हिउँले पूर्ति गर्ने हिमाली जिल्ला मनाङमा अहिले वर्षा हुन्छ । जसले गर्दा यहाँका माटाका छानो भएका घर मासिन थालेका छन् ।
परम्परा तथा मौलिकता झल्कने गरी रैथाने सीप, ज्ञान र प्रविधिको प्रयोगबाट बनाइएका घरको छत नै माटोका राखिन्थ्यो । माटो जमाएर बनाइएका घर जलवायु परिवर्तनको चेपुवामा परेर कङ्क्रिटले बन्न थालेका छन् । वर्षायाम लागेसँगै माटाका घर डरैडरमा रहेका छन् ।
विगतको तुलनामा मनाङमा औसतभन्दा अधिक वर्षा र लगातार झरी पर्न थालेपछि माटोले बनाइएका परम्परागत घरको छतले धान्न सक्ने अवस्था छैन । जसले गर्दा यहाँका घर पानीले भिजेर चुहिन थालेका छन् । पहिले माथिल्लो मनाङमा वर्षा नै हुँदैनथ्यो । अहिले विशेषगरी नार्पाभूमि गाउँपालिकाका नार र फुमा रहेका यस्ता पुरातन सांस्कृतिक शैलीमा निर्माण गरिएका घर वर्षाका कारण नासिँदै गएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताउनुभयो ।
“प्रकृतिसँग जुध्न सकिँदैन । प्रकृतिलाई फेर्न पनि सकिँदैन । जलवायु परिवर्तनले प्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ । परम्परागत तथा मौलिकता नै मासिने अवस्थामा पुगेको छ । यसका साथै परम्परागत संस्कृतिलाई समेत असर गरेको महसुस हुन्छ”, उहाँले भन्नुभयो । विगतमा माथिल्लो मनाङमा वर्षा नहुने हुँदा यस्ता घर नै पहिचान बनेकामा अहिले फेरिँदै गएको उहाँको भनाइ छ ।
सदरमुकाम चामेमा पुराना परम्परागत घरदेखिन छाडेका छन् । विकासको क्रमसँगै आधुनिकताले छोप्दै जाँदा नासोँ तथा चामे गाउँपालिकामा अधिकांश घर आरसिसी गरी निर्माण भएका पाइन्छन् । तर, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा भने पुरातन शैलीका सांस्कृतिक सम्पदा अझै पनि देख्न सकिन्छ ।
आफ्ना सन्ततिका लागि पूर्वजले बनाएका ऐतिहासिक सम्पदा, स्मारक, गुम्बा, छोर्तेन तथा देवस्थलको अस्तित्व नासिँदै जान थालेका छन् । एकातिर जलवायु परिवर्तनको प्रभावले घट्दो हिमपात, बढ्दो तापक्रम र वर्षाले मानिस तथा पशुचौपायाको स्वास्थ्य, सामाजिक, सांस्कृतिक धरो नासिने, रैथाने सीप, पहिचान तथा ज्ञान नासिने गरेको छ भने अर्कोतर्फ जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा हानी पुर्‍याउने गरेको छ । हिउँ र पानी कम पर्ने चक्र फेरिएपछि हिमाली जीवनशैली र संस्कृतिमा पनि असर परेको अध्यक्ष लामाले बताउनुभयो । पर्यावरणीय प्रभावका कारण जीवनयापन, वातावरणीय अवस्था तथा आर्थिक–सामाजिक–सांस्कृतिक अवस्थामा फेरबदल हुँदै गएको छ ।
“पर्यटकको ‘हब’ का रूपमा परिचित मनाङमा आउने विदेशी पर्यटक तिलिचो जान मात्रै आउँदैनन् । उनीहरू यहाँको जीवनशैलीको अध्ययन गर्न पनि आउँछन्, हामीले गुम्बा, छार्तेन, माटाका घरलगायत मौलिक पहिचान बनेको मनाङवासीको संस्कृति संरक्षण गर्नुपर्छ”, नार्पाभूमिका अध्यक्ष लामाले भन्नुभयो ।
उहाँले नार्पाजातिको संस्कृति, रीतिरिवाज संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नार्पाभूमिमा गाउँ छाड्दा साइत हेरेर मात्र निस्किने तथा छोर्तेन घुमेर गाउँ छिर्ने चलन अहिले पनि जीवन्त रहेको छ । गाउँको प्रवेशद्वारका रूपमा अहिले पनि छोर्तेन देख्न पाइन्छ ।
यी परम्परागत गुम्बा छोर्तेन यहाँका सांस्कृतिक सम्पत्ति हुन् । संरक्षणको अभावमा यहाँका गुम्बा, छोर्तेन तथा माटाका घरको छानो चुहिएर दलिन, खम्बा र निदाल कुहिएर मक्किएका छन् ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले अधिक वर्षा हुँदा यहाँका बासिन्दाले कङ्क्रिटका घर बनाउन बाध्य भएका बताउनुभयो । “विगतमा जस्तो पानीको आवश्यकता हिउँले पूरा गर्दैन । भारी वर्षा हुन्छ । जसले चिसो ठाउँ भएकाले वर्षाबाट बच्न माटाको घर फेरिन बाध्य भएका छौँं”, उहाँले भन्नुभयो, “चामे–५ मा केही परम्परागत मौलिक घर थिए । अहिले ती पनि नासिँदै गएका छन् । जति वर्ष फेरिन्छ, त्यति वर्षा बढ्दा समस्या भएको छ ।”
बाक्लो गारो भएको माटोको घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्छ । यस्ता घरमा बस्दा जाडोयाममा चिसोजन्य रोगले छुँदैन । तर, आधुनिकता छुदै गर्दा आरसिसी घर बन्ने क्रम जारी छ । यस्ता घरमा गर्मीमा बढी गर्मी र जाडोमा बढी जाडो हुन्छ ।
विज्ञका अनुसार माटोले बनेका घरले तातो चिसो सोसेर राख्छ । जसले गर्दा जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छ । यी पुराना सम्पदाको संरक्षणका लागि तीनै तहका साथै सम्बन्धित निकाय सचेत हुन आवश्यक छ । विशेषगरी जलवायु परिवर्तन न्यूनीकरण तथा हरित वृद्धिमा सरकारको चासो दिन सकेमा यहाँको जीवनशैलीलाई मुख्य रूपमा टेवा पुग्नेछ । रासस