२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहुबलीको होडबाजी, नेताले किन भुल्दैछन् जवाफदेहीता ?



अ+ अ-

काठमाडौं । संविधान, कानुन र परम्परागत मूल्य–मान्यतामा देश सञ्चालन हुन्छ । राजनीतिक दलहरु आ–आफ्नो मूल्यमान्यता र सिद्धान्तका आधारमा चल्छन् । लोकतान्त्रिक देशमा लोकतान्त्रिक पद्धतिअनुसार सरकार सञ्चालन हुन्छ । तर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश भए पनि राजनीतिक दलहरुले बाहुबलीको संस्कार त्याग्न सकेका छैनन् । बरु लोकतान्त्रिक मूल्यमान्यतालाई चटक्कै भुलेर आफ्नै कार्यकर्तालाई अनैतिक बन्द उकास्ने गरेका छन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएका अभिव्यक्तिबाटै कुरा गरौं । ओलीले आफ्नो पार्टीका कार्यकर्ताहरूलाई जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका छन् ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिए । यसरी पार्टीका कार्यकर्तालाई उकासिइरहेका बेला उनले आफू देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री हो भन्ने भुलेको देखिन्छ ।

सरकारले देश सञ्चालन गर्छ । देशको जिम्मा लिएको हुन्छ । तर यहाँ त प्रधानमन्त्रीले नै संघीय राजधानीलाई नियन्त्रणमा लिएर आफ्नो पार्टीलाई उक्साइरहेका छन् । राजधानीमा कुनै जोखिम आइपरे त्यसको व्यवस्थापन गर्ने सुरक्षा निकाय छन् । तर प्रधानमन्त्रीले त पार्टीका कार्यकर्तालाई नियन्त्रणमा राख्न निर्देशनात्मक आदेश दिएका हुन् ।

वडाअध्यक्षहरूलाई प्रशिक्षणमा ध्यान दिन र त्यसपछि १५ गतेको कार्यक्रममा पूर्ण रूपमा समर्पित हुन उनले निर्देशन दिए ।

‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। १५ गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै तयारी थाल्नुस्। १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी अवस्थामा बस्नुहोला। जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस ्। प्रशिक्षण सिद्धिएपछि १५ गतेमा ध्यान दिनुस् ।’

उनले अगाडि भने, ’१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कुन संस्था अगाडि लाग्छ, कसले के आयोजना गर्छ त्यो कुरा छोडिदिनुस् ।’

प्रधानमन्त्री ओलीका अभिव्यक्ति देशलाई भिडन्ततर्फ लैजाने खालका छन् । उनले सिधै आफ्नो कार्यकर्तालाई भिडन्तमा उत्रन आह्वान गरेका छन् । यसको अर्थ अब जेठ १५ गते एमालेबाहेकका अरु कुनै पनि दलका कार्यकर्ता राजधानीका सडकमा निस्कन पाउने छैनन् । सुरक्षाकर्मी आ–आफ्नो कार्यालयमै बस्ने छन् । अर्थात सबै ठाउँ नेकपा एमालेका कार्यकर्ताले मात्र भरिभराउ हुने छन् ।

प्रधानमन्त्रीले यस्तो भड्काउ अभिव्यक्ति किन दिइरहनु भएको छ ? उहाँले किन भुलिरहनुभएको छ कि संविधानले जति धेरै अधिकार प्रधानमन्त्रीलाई दिएको छ त्यति नै संविधान र कानुनप्रति उत्तरदायी पनि बनाएको छ ?

देशको प्रधानमन्त्रीले मिति, समय, ठाँउ तोकेर देशको राजधानी कब्जा गर्ने कुरा गैरसंवैधानिक मात्र छैन । अलोकतान्त्रिक र सभ्य समाजको विपरीत छ ।

देशको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुपर्ने अवस्था चाँहि किन आयो ? यदि, कुनै राजनीतिक दलले सडक प्रदर्शन गर्ने भनेकै भरमा यस्तो भन्नु भएको हो भने के प्रधानमन्त्रीलाई राज्य संयन्त्रमाथि विश्वास छैन ? प्रहरी प्रशासनले शान्ति सुरक्षा दिन सक्दैन ?

प्रधानमन्त्रीका अभिव्यक्तिका मात्र कुरा यहाँ गर्न खोजिएको होइन । राजतन्त्र स्थापनाको माग गर्दै आन्दोलनरत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति पनि उत्तिकै आपत्तिजनक छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले केही दिनअघि जेठ १५ देखि सुरू हुने आन्दोलनले गणतन्त्र ढाल्ने दाबी गर्दै प्रधानमन्त्रीलाई हेलिकप्टरबाट भाग्ने सुविधा दिने अभिव्यक्ति दिएका थिए ।

गणतन्त्र दिवसकै दिनबाट ‘गणतन्त्र ढाल्ने गरी निर्णायक आन्दोलन थाल्ने’ तयारीका लागि गत मंगलबार काठमाडौँका सबै स्थानीय तहमा अगुवा कार्यकर्ता भेला आयोजना भएको थियो ।

सोही कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने बताए । अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने बताए । यस पटकको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने भन्दै जिकिर गरे ।

उनले भने, ‘हाम्रै छिमेकमा १९० वर्ष पुरानो ब्रिटिस शासनलाई सत्याग्रहको बाटोबाटै अन्त्य गरिएको थियो । हामी यो गणतन्त्रलाई पनि सत्याग्रहको बाटोबाटै अन्त्य गर्छौँ । अस्ति भर्खरै प्रधानमन्त्रीले संसदमा भन्दै हुनुहुन्थ्यो । प्रधानमन्त्रीले भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो भन्नुभयो । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो । लाने हो यसपालि टुंग्याएर छाड्ने हो ।’

राजनीतिक खपतका लागि लिङ्देनले दिएका अभिव्यक्ति लोकतान्त्रिक मुलुकमा सुहाउन खालका होइनन् । यस्ता अभिव्यक्तिले अराजक प्रवृक्तिलाई नै मलजल पुग्छ ।

त्यसो त प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि बेलाबेलामा यस्तै चर्का अभिव्यक्ति दिनुहुन्छ । कहिले विदेशीको इशारामा सरकार बनेको त कहिले विदेशीले नै बनाइदिएको जस्ता टिप्पणी उहाँका आउने गरेका छन् । त्यति मात्र नभएर जनता भड्काउने अभिव्यक्ति पनि उहाँले दिने गर्नुभएको छ।

जिम्मेवार राजनीतिक दलका नेताहरुले दिएका गैरजिम्मेवार अभिव्यक्तिले जनता अन्योलमा परेका छन् । लोकतान्त्रिक मूल्य र मान्यता पुरै भुलेको भान जनताले गर्न थालेका छन् । बाहुबलीबाटै शासन चलाउने जस्ता अभिव्यक्ति शीर्ष तहबाटै सुनिएका छन् । यसले जनता विरक्तिनुपर्ने अवथा त आउँदैन भन्न प्रश्न चाहिँ उठेको छ ।