९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’
अ अ+ अ-

धरान, (सुनसरी) । शहर नबिउँझिनुअघि नै बिउँझिनुहुन्छ शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्नुहुन्छ । मकै किनेर फेरि धरान । यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्न । उहाँले दिनहुँ करिब १६० घोगा मकै पोलेर बेच्नुहुन्छ । एकदिन होइन, दुई दिन पनि होइन, तीन दशकदेखि यस्तै चलिरहेको छ धरान उपमहानगरपालिका–१६ निवासी ५९ वर्षीया श्रेष्ठको दिनचर्या ।

उमेर ढल्किँदै छ, तर जाँगर उस्तै छ । काम गरेर आत्मनिर्भर बन्ने उहाँको सपना झन् तन्नेरी बन्दै गएको छ । “काम गर्नैपर्छ भनेर मानसिक रूपमा तयार भएपछि के उमेर, के समस्या १ झन् झन् बानी पो पर्दोरहेछ । त्यसैले सुरुआती दिनदेखि हालसम्म कहिल्यै कामलाई बोझ मानेकी छैन”, श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार मोरङकै विभिन्न ठाउँबाट मकैबारी नै ठेक्कामा लिएर कारोबार गर्नु परेको छ । बारीमै मकै ठेक्कामा लिँदा रु ६० हजारदेखि रु एक लाख ५० हजारसम्म कबोल गर्नुपर्छ । एक्लैले त्यसो गर्न नसकेपछि दुई/तीनजना मिलेर काम भइरहेको उहाँले सुनाउनुभयो । “साथीहरूसँग मिलेर ठेक्का लिँदा अलिक सस्तो हुन्छ तर सधैँ नाफा, घाटा मात्रै हुँदैन । कहिले घाटा त कहिले फाइदाको व्यापार हुन्छ”, श्रेष्ठले भन्नुभयो ।

यसरी ल्याइएको मकै प्रतिघोगा सानोको रु १५ र ठूलो रु ५० सम्म बिक्री हुने गरेको छ । यही मकै बेचेर मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म कारोबार हुने गरेको उहाँले बताउनुभयो । “यसरी धरानको एउटा गल्लीको सडकछेउमा खुला आकाशमुनि बसेर मकै बेचिरहेकी छु । न सटर छ, न छानो तर मसँग मेहनत गर्ने आँट छ”, श्रेष्ठ भन्नुहुन्छ, “काम गर्‍यो भने खानाका लागि अभाव हुँदैन, मकै पोलेरै घरव्यवहार चलिरहेको छ । जिन्दगी चलाउने साहारा नै यही काम छ ।”

हाल उहाँ एकल महिला हुनुहुन्छ । छ वर्षअघि श्रीमान्को निधन भएको थियो । पहिले श्रीमान्ले सघाउने गरेकामा त्यसयता एक्लैले मकै पोलेर घरव्यवहार चलाएको श्रेष्ठले सुनाउनुभयो । “अब अरू काम गर्न सक्दिन, मकै पोल्नु खासै गाह्रो भने छैन । खुल्ला आकाशमुनि घाम लाग्दा गर्मी त हुन्छ तर सहनै पर्छ । दु:ख हुन्छ भनेर काम छोड्न नि भएन १ यसैले सबै चीज दिएको छ”, थकित अनुहारमा आशाको भाव झल्काउँदै उहाँले भन्नुभयो ।

श्रेष्ठले करिब तीन दशकदेखि धरानको लक्ष्मीचोक नजिकैको एउटा गल्लीमा मकै पोल्दै आउनुभएको छ । सुरुदेखि नै यहाँ बसेर उहाँले हजारौँलाई स्वादिलो मकै दिइरहनुभएको छ । त्यसबापत घरखर्च चलाउन र गर्जो टार्न अरूसँग त्यत्तिकै हात फैलाउनु परेको छैन । त्यसैले पनि आफ्नो कामप्रति सधैँ माया लाग्ने गरेको श्रेष्ठको भनाइ छ । “मेरो उमेरमा अधिकांश मानिसहरू विश्राम र शान्ति खोजिरहेका हुन्छन्, अरूकै सहारामा बाँचिरहका हुन्छन् । मैले भने त्यो अपेक्षा कहिल्यै गरिनँ । आफ्नै कर्म गरेर खाइरहेकी छु, सकुन्जेल काम गर्ने हो, नसकेको दिन जे हुन्छ हुन्छ”, उहाँले भन्नुभयो ।

यो उहाँको हालसम्मको सङ्घर्ष र आत्मनिर्भरतापछि आत्मविश्वास भरिएको अभिव्यक्ति हो । यही आत्मविश्वासले श्रेष्ठलाई आफ्नो कामबाट थकान होइन सधैँ थप काम गर्ने ऊर्जा र प्रेरणा मिलिरहेको छ । “जुन दिन म काममा निस्कन्न, त्यस दिन छट्पटी हुन्छ । श्रम गरेकै कारण आजसम्म टिकिरहेकी छु । बुढेसकाल आयो भनेर घरैमा बसेर हुँदैन हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ”, मुस्कुराउँदै उहाँ भन्नुहुन्छ, “मकै बेच्ने काम मेरा लागि केवल आम्दानीको स्रोत मात्र होइन, आत्मसम्मानको आधार पनि हो । श्रम गरेपछि पाइने सन्तोष नै असली कमाई रहे छ । ” रासस