६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुरी र असिनापानीले एक जना घाइते



अ+ अ-

बैतडी । हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन् । सोमबार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

हुरीले सिँगास गाउँपालिका–२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ । छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो । टेकेन्द्रको टाउकोमा चोट लागेको छ ।

उहाँका अनुसार सिँगास(५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ । पाटन नगरपालिका(८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ । उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

हुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका-६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ । हुरीका कारण सडकमा रुख ढलेर महाकाली राजमार्ग पनि अवरुद्ध बनेको थियो । डिलाशैनी–६ बाङ्गाबगरमा रुख ढलेर केहीबेर अवरुद्ध भएको राजमार्ग अहिले नियमित सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

असिनापानीले फलफूल र तरकारीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका–४ का उमेश भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक्कासी आएको असिनापानीले वर्षे फलफूल र तरकारीमा क्षति पुगेको छ ।” हुरीका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अवरुद्ध विद्युत् सेवा सञ्चालनको प्रयास भइरहेको जिल्लास्थित नेपाल विद्युत् प्राधिकरणका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । यसअघि गत चैत अन्तिम साता पनि असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बेर्नामा क्षति पुर्‍याएको थियो । रासस