
एजेन्सी । भारतले एसिया कपबाट फिर्ता लिएको खबरलाई अस्वीकार गरेको छ ।
बीसीसीआईका सचिव देवजित सैकियाले भारतले एसिया कपबाट फिर्ता लिएको खबर झुटो भएको बताएका हुन् ।
समाचार एजेन्सी एएनआईलाई उनले भनेका छन्, ‘भारतले एसिया कपबाट फिर्ता लिएको रिपोर्ट सही छैन। बोर्डले आगामी एसीसी कार्यक्रमहरूको बारेमा छलफल गरेको छैन । अहिले हाम्रो मुख्य ध्यान जारी आईपीएल र त्यसपछि हुने इङ्गल्याण्ड शृंखलामा छ ।’
सोमबार बीसीसीआईले एसिया कप २०२५ बाट पछि हट्ने निर्णय गरेको भन्दै केहि भारतीय सञ्चारमाध्यमले लेखेको थियो ।
यस वर्ष सेप्टेम्बरमा भारतले एसिया कप आयोजना गर्ने तालिका छ । तर, यदि भारतले फिर्ता लियो भने सम्पूर्ण प्रतियोगिता रद्द हुन सक्ने सम्भावना छ ।
२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव छ ।
यसअघि, २०२३ मा भएको एसिया कप हाइब्रिड मोडेलमा खेलाइएको थियो। भारतीय टोलीले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि खेल हाइब्रिड मोडेलमा खेलाइएको थियो।
यस अन्तर्गत, भारतका खेलहरू श्रीलंकामा आयोजना गरिएका थिए । फाइनल पनि श्रीलंकामा खेलिएको थियो। फाइनलमा भारतले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो।
यस्तै, च्याम्पियन्स ट्रफी २०२५ पनि हाइब्रिड मोडेलमा खेलाइएको थियो । फेब्रुअरीमा भएको च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान नगएपछि भारतका खेलहरू दुबईमा खेलिएका थिए ।
२०२३ को एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली भने भारत आएको थियो । त्यसपछि भारत र पाकिस्तान बीचको खेल १४ अक्टोबरमा अहमदाबादमा खेलिएको थियो । उक्त खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले कराएको थियो ।
भारतीय टोली अन्तिम पटक २००८ मा पाकिस्तान गएको थियो । भारतीय टोलीले ३ टेस्ट खेलको त्यो शृङ्खला १(० ले जितेको थियो। यस शृङ्खलाका २ खेल बराबरीमा सकिएका थिए ।
मुम्बईमा भएको आतंकवादी आक्रमणपछि भारतीय टोलीले पाकिस्तानको भ्रमण गरेको छैन। २००८ को मुम्बई आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानमा क्रिकेट खेल्न अनुमति दिन अस्वीकार गर्दै आएको छ ।
त्यसबेलादेखि दुवै टोलीले आईसीसी र एसीसीप्रतियोगिताहरूमा मात्र खेल्छन् । २०१३ देखि, दुबै टोलीले तटस्थ भेन्यूमा १३ एकदिवसीय र ८ टी(२० खेल खेलेका छन्। सन् २००९ मा पाकिस्तानमा आतंककारीहरूले श्रीलंकाली टोलीमाथि पनि आक्रमण गरेका थिए।