काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठन गरिएको संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन समितिमा बुझाएको छ।
आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा बनेको उपसमितिले प्रतिवेदन बुझाएको हो। संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफायुक्त विधेयकमा १०८ बुँदामा उपसमितिले संशोधन प्रस्ताव गरेको जानकारी दिए।
उनका अनुसार १०१ दफामा परिमार्जन, १३ नयाँ दफा थप, ४ दफा हटाइएको छ भने ६२ दफा भने सरकारले प्रस्ताव गरेअनुसार नै यथावत् राखिएको छ।
२०८१ चैत ८ गते गठन गरिएको उपसमितिले यो प्रतिवेदन बुझाएको हो। सरकारले विद्यालय शिक्षा विधेयकलाई यही संसदको चालु अधिवेशनमै पारित गर्ने तयारी गरेको छ।









