नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले हरेक वर्ष बजेट आउने गरेको र यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा रहेको बताउनु भयो । उहाँले नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको भन्दै शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजबिहनीहरुको हितको अन्तरबिरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हरेक वर्ष बजेट आउने गरेको छ । यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा आएका छौँ । बजेटको सिद्धान्त र प्राथमिकता सरकारले नै निर्धारण गरेको होला । नीति तथा कार्यक्रममा छलफल भएको छ । नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको छ । शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजबिहनीहरुको हितको अन्तरबिरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ? भोलिको परिदृश्यले देखाउनेछ । विकासको सूचकाङ्कले गाउँ बस्ती पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र देशका पछाडि परेका सुदूरपश्चिम र कर्णाली र मधेस प्रदेश विकासमा उपेक्षित हुँदै गएको कुरा विगतका बजेटहरुले देखाएका छन् । विगतमा भएका अनुभव र विद्रोहबाट पाठ सिक्दै सामाजिक न्याय र विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माणका लागि सरकारलाई सुझाव दिन चाहन्छु ।’

सांसद साउदले विकासको सूचकाङ्कले गाउँ बस्ती पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र देशका पछाडि परेका सुदूरपश्चिम र कर्णाली र मधेस प्रदेश विकासमा उपेक्षित हुँदै गएको कुरा विगतका बजेटहरुले देखाएको बताउनु भयो ।