
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको रिटको आज सुनुवाइ हुँदै छ । मिश्रलाई हिजो पनि अदालतमा उपस्थित गराइएको थियो ।
सर्वोच्च अदालतले आज मिश्रलाई पक्राउ गरी थुनामा राखिएको विषय कानुनसम्मत छ या छैन भनेर निर्णय सुनाउने छ ।
गत बुधबार मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले बन्दी रविन्द्र मिश्र सहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै शुक्रबार स–शरीर उपस्थित गराउन आदेश गरेको हो । अदालतको आदेशअनुसार प्रहरीले मिश्रलाई हिजो अदालतमा उपस्थित गराएको थियो । प्रहरीले आज पनि मिश्रलाई अदालतमा लिएर जाने छ ।
मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।