काठमाडौँ। वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शान्तिबिना विकास सम्भव नहुने भएकाले भगवान् गौतम बुद्धको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।
भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समितिले आज बौद्धमा आयोजना गरेको कार्यक्रममा उहाँले बुद्धको शान्ति सन्देशका माध्यमबाट नै मुलुकमा स्थिरता कायम हुने बताउनुभयो । तृष्णालाई त्यागेपछि दुःखबाट छुट्कारा मिल्छ भन्ने बुद्धको मुख्य सन्देश अहिलेका मानिसलाई उत्तिकै लाभदायक भएको मुख्यमन्त्री लामाले सुनाउनुभयो ।
वैशाख शुक्ल पूर्णिमालाई जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण लिएको बुद्धको त्रिसंयोग दिवसका रूपमा मनाइने गरेको उहाँले बताउनुभयो ।संविधानसभा सदस्य जीपछिरिङ लामाले व्यक्ति सत्मार्गमा लागी मन राम्रो बनाएमा बुद्ध जयन्ती मनाएको सान्दर्भिक हुने धारणा राख्नुभयो ।
पूर्वमन्त्री परशुराम तामाङले बुद्ध जन्मस्थलमा बढीभन्दा बढी पर्यटक आउने अवस्था बनाउनुपर्ने बताउनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त गुम्बा पुनःनिर्माणका लागि बजेटको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।
कार्यक्रममा तोर्तिङ ताम्बा रिम्पोछे र क्याब्जे झ्याटुल रिम्पोछेबाट आयु अभिषेक (वाङ) प्रदान गरिएको थियो । आज दिनभर बुद्धको अस्तुधातु पनि हायातचौरमा प्रदर्शन गरिएको थियो ।










