२७ जेष्ठ २०८३, बुधबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा



अ+ अ-

काभ्रेपलाञ्चोक। बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु भएको छ । करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्दछन् ।

बर्सेनि चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिएको छ । जात्राको पहिलो दिन आज बिहानदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजाआराधाना गरी औपचारिक रुपमा जात्राको सुरु भएको हो भने आजैदेखि घरघरमा भोज पनि सुरु गरिएको छ ।

यस्तै आजै राति हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिने र मत पूजा (चिराग यात्रा) गरिने स्थानीय मनिष भोछिभोयाले बताउनुभयो ।

उहाँका अनुसार भोलि बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ । भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।

रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।

जात्रा अवधिभर बुढापाकाले टोलटोलमा बसी बिहान–बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध राजचन्द्र श्रेष्ठले बताउनुहुन्छ । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ ।

जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । सरकारका तर्फबाटसमेत पूजा गर्ने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएकामा बनेपाली गर्व गर्छन् । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताउनुहुन्छ । उहाँका अनुसार जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ ।

रथलाई प्राचीन लायकू दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ । यस्तै तेस्रो दिन अपराह्न मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्छ ।

धार्मिक कथन एवं किंवदन्तीअनुसार करिब २५ सय वर्षअगाडि लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासुरलाई भगवतीका रुपमा प्रकट भई चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसियालीमा आराध्यदेवी चण्डेवरी माईको जात्रा मनाइँदै आइएको हो ।

चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएका छन् । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो ।  रासस