११ श्रावण २०८३, सोमबार
,
Latest
गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा



अ+ अ-

म्याग्दी । म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको छ । आज सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच जिल्लालाई चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्यकर्मीहरूले गरेको घरधुरी सर्वेक्षणका क्रममा यहाँ १५ महिनामुनिका एक हजार २३५  जना बालबालिकाले नियमित खोप लगाइरहेको र अन्य सबै लक्षित उमेरका बालबालिकाले खोपको पूरा मात्रा लगाएको भेटिएपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

उहाँका अनुसार मङ्गला र रघुगङ्गा गाउँपालिकामा १६ महिनादेखि २७ महिनासम्मका ३६३ र मालिका, अन्नपूर्ण, धवलागिरि गाउँपलिका र बेनी नगरपालिकामा १६ महिनादेखि ५९ महिनासम्मका तीन हजार २८८ जना बालबालिकाले पूर्णखोप पाएका छन् । यसअघि जिल्लाका ४५ वडा र छ वटै स्थानीय तहमा बालबालिकाको विवरण सङ्कलन र खोपको पूर्ण पहुँच पु¥याएर वडा र पालिकालाई पूर्णखोप सुनिश्चिता भएको घोषणा गरिएको थियो ।

जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, स्वास्थ्यकर्मीलगायतले आगामी दिनमा समेत यसको दिगोपना कायम राख्दै अगाडि बढ्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विभिन्न रोगबाट जोगाउने भएकाले हरेक बालबालिकामा पूरा मात्राको खोपको पहुँचलाई निरन्तर कायम राख्नुपर्ने बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य हासिल गर्न, बालमृत्युदर तथा अपाङ्गताको दर घटाउन खोपले सहयोगी भूमिका खेलेको भन्दै खोपको पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय खोप तालिकाअनुसार नेपालमा बालबालिकाले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगविरुद्ध १३ प्रकारका खोप लगाउने गर्छन् ।

कार्यक्रममा खोप अभियानमा महत्वपूर्ण योगदान पु¥याएकामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यचौकी, स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो । गण्डकी प्रदेश खोप समन्वय समितिका तर्फबाट म्याग्दीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम गरिएको प्रमाणपत्र प्रदान गरियो । प्रदेशसभा सदस्य जुग्जालीमार्फत जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस जिल्लामा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्यचौकी, चार सहरी स्वास्थ्य केन्द्र, ३० सामुदायिक स्वास्थ्य एकाइ, १०७ खोप केन्द्र, ६८ गाउँघर क्लिनिक रहेका छन् । यसअघि विसं २०७१ चैत १५ गते म्याग्दीलाई नेपालकै छैटौँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । रासस