६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत

दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत
अ+ अ-

काठमाडौं: लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ । गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् ‘कर्नालीका छाइला’ शनिबार राजधानीमा सार्वजनिक गरिएको हो ।

प्रकृतिसँग मिलेर सुदूर जनजीवनले विकास गरेका भाकाहरूलाई आफ्नो आवाज बनाउने ब्यान्डको अभ्यासबाटै जन्मेको यो पछिल्लो गीतमा श्रव्यदृश्य सर्जक भूषण दाहालले तयार पारेको म्युजिक भिडियो छ ।

गीत भर्खर सार्वजनिक भए पनि नेपथ्यलाई पछ्याउँदै आएका धेरैले यसबारे दुई दशक अगावै जानकारी पाइसकेका थिए । ब्यान्डको गीत खोजी प्रयासमा उभिएको वृत्तचित्र ‘भेँडाको ऊनजस्तो’ मा गायक अमृत र त्यस गीतका सङ्कलक नारायण वाग्लेले यसलाई उतिबेलै गुनगुनाएका थिए । शनिबारको कार्यक्रममा वृत्तचित्रको त्यो दृश्य पनि देखाइएको थियो । विशेष गरी सल्यान र आसपासका जिल्लामा प्रचलित लोकधुन ‘टप्पा’ मा उभिएको यस गीतलाई अमृतले त्यसै भेगमा पुगेर तयार पारेका  हुन् । पुरानो नेपाली चलचित्र ‘माइतीघर’ मा अटाएको लोकप्रिय गीत ‘काला कुर्तैले छ मैने जागिरै खायाँ’ यसै ‘टप्पा’ धुनमा आधारित छ ।

 ‘कर्नालीका छाइला’ तयार पार्दा भने अमृतले लोकभाकाको मूललाई समातेर आफ्नै मौलिक शैलीमा विकास गरेका छन् ।

अमृतका अनुसार ‘भेँडाको ऊनजस्तो’ एल्बममा अटाएको ‘सा कर्णाली’ गीत भेटिएकै बेला यस गीतको मुखडा पनि फेला परेको थियो । ‘सन् २००१ मा डोल्पातिरबाट आएका अङ्गद हमाल र यसका सङ्कलक लक्ष्मीकान्त उपाध्यायको मुखबाट यो गीत पहिलोपटक सुन्ने मौका पाएको थिएँ,’ अमृतले शनिबारको समारोहमा खुलाए, ‘यसबीच सन् २००८ मा एकपटक यस गीतलाई रेकर्ड गरिसके पनि चित्त बुझेन र बाकसमा थन्क्याइदिएँ ।’

त्यसपछि पनि यसलाई दिमागमा बोकेरै धेरैपटक कर्णाली भेगको यात्रा गरेको र पोहोर सल्यानका केही ग्रामीण साङ्गीतिक बैठकमा सरिक भएपछि यो रूप दिन मानसिक हिसाबले आफू तयार भएको उनले प्रस्ट पारे । अमृतका अनुसार यो गीत सङ्कलन गर्दा स्थानीय जनजिब्रोका लाइनहरू पर्याप्त भेटिएका थिए । ‘टप्पा’ का सीमितताले गर्दा तिनै लाइनलाई बलियो आधारसहित धुनमा समेट्न सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो ।

गीत तयार भएपछि सुहाउँदो म्युजिक भिडियोसहित सार्वजनिक गर्ने निधोमा आफू पुगेको व्यवस्थापन संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले बताए । ‘कर्णालीमै आधारित नेपथ्यको सिर्जना ‘सा कर्णाली’ दुई दशकअघि भूषण दाहालकै शिल्पले सजाएको थियो,’ उनले भने, ‘यसलाई पनि उनले नै न्याय गर्न सक्ने हाम्रो विश्वास थियो । हालै त्यस भेगको यात्रा गरेर म्युजिक भिडियो तयार पारिएको छ ।’

नेपथ्यसँग काम गर्दा आफूले सदैव मित्रवत् चुनौती महसुस गर्ने गरेको दाहाल बताउँछन् । यसपटक भने नयाँ प्रविधि र तन्नेरी पुस्ताका सहकर्मीको साथ पाएर त्यस चुनौतीलाई सहजै सामना गरेको उनले उल्लेख गरे ।

समारोहमा शनिबार प्रस्तुत गरिएको यो म्युजिक भिडियो केही दिनलाई शुल्क तिरेर मात्र दर्शकले हेर्न पाउने व्यवस्था मिलाइएको छ ।

‘नेपथ्यका कुनै पनि सिर्जनामा यो ब्यान्ड मन पराउने र यसलाई भरथेग गरौँ भन्ने भावना राख्नेको पक्कै पनि पहिलो हक लाग्छ,’ नेपालयका श्रेष्ठ भन्छन्, ‘त्यसै अनुरूप यो भिडियो तत्काल हेर्न नेपालभित्र कम्तीमा १० रुपैयाँ र विदेशमा कम्तीमा एक डलर तिर्नुपर्ने बन्दोबस्त मिलाएका छौँ ।’ स्वेच्छापूर्वक बढी तिर्न खोज्नेलाई पनि आफूहरूले स्वागत गर्ने हिसाबले प्रबन्ध गरिएको उनले जानकारी दिए ।

गीत हेर्न चाहने दर्शकले नेपथ्यको वेबसाइट www.nepathya.com.np मा जानुपर्ने हुन्छ । त्यहाँ यस गीतका लागि लिङ्क दिइएको छ, जसलाई थिचेपछि सोझै ‘गेटवे’ मा पुगिन्छ । त्यसमा बैंकको विवरण वा कुनै पनि ‘पे वालेट’ प्रयोग गरेर अर्डर गर्न सकिन्छ । त्यसपछि उक्त व्यक्तिको इमेलमा प्राप्त हुने लिङ्क थिचेपछि खुल्ने म्युजिक भिडियोलाई जतिपटक पनि हेर्न सकिनेछ ।

पैसा नतिरेरै हेर्न चाहनेका हकमा भने यो म्युजिक भिडियो साता दिनपछि मात्र सार्वजनिक थलोमा उपलब्ध गराइनेछ । ‘हामी दुई दिनमै नेपथ्य साङ्गीतिक यात्राका लागि अमेरिका प्रस्थान गर्दैछौँ,’ श्रेष्ठले भने, ‘अमेरिका यात्राकै दौरान उपयुक्त समय हेरेर यो म्युजिक भिडियो युट्युबमा रिलिज गर्नेछौँ ।’