११ श्रावण २०८३, सोमबार
,
Latest
स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुष्ठरोगप्रति विभेद लज्जास्पद : उपसभामुख इन्दिरा रानामगर



अ+ अ-

काठमाडौँ। दुईदिने ‘नेपाल कुष्ठरोग सम्मेलन २०२५’ आज सम्पन्न भएको छ । सम्मेलनमा कुष्ठरोगको वर्तमान अवस्था, विद्यमान चुनौतीहरू तथा समाधानका उपायबारे गहिरो छलफल गरिएको थियो ।

छलफलमा भाग लिँदै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले कुष्ठरोगलाई अझै पनि सामाजिक कलङ्कका रूपमा लिइनु लज्जास्पद रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि यो रोगप्रति विभेद कायम छ । कानुनले समेत कुष्ठरोगीलाई विभेद गर्ने प्रावधानहरू राखेको पाइन्छ । सदनमा यो विषयमा आवाज नै उठाइएको छैन, जसका कारण पीडितहरू लाञ्छना र तिरस्कार भोग्न बाध्य छन् ।”

उपसभामुख मगरले कुष्ठरोगबाट पीडित व्यक्तिहरूको प्रतिभालाई पहिचान गरी तिनीहरूलाई अवसरमा पहुँच दिनुपर्ने बताउँदै त्यसअनुसारको समावेशी वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले समाजमा सामाजिक कलङ्क बनेका यस्ता रोग समेटेर विशेष विधेयक ल्याउनुपर्ने माग समेत गर्नुभयो ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य सांसद रेखा शर्माले जनप्रतिनिधिहरूमा कुष्ठरोगसम्बन्धी जानकारीको कमी रहेको उल्लेख गर्दै तिनीहरूलाई समेत जनचेतनामा समावेश गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “कानुनले विभेद नगर्नु भनिए पनि हालको देवानी संहिताले कुष्ठरोगलाई ‘महारोग’ भनेको छ, जुन वर्तमान संविधानको मर्मविपरीत छ । त्यसैले कानुन संशोधन गर्नु अपरिहार्य छ”, शर्माले बताउनुभयो ।

त्यसैगरी, समिति सदस्य दीपा शर्माले स्वास्थ्यलाई मौलिक हकका रूपमा सम्बोधन गरिए पनि समाजमा अझै केही रोगबारे खुल्न नसकिने स्थिति रहेको बताउँदै कुष्ठरोग निवारणका लागि निरन्तर प्रयास आवश्यक रहेको धारणा राख्नुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टङ्कप्रसाद बाराकोटीले कुष्ठरोग निवारणका लागि सक्रिय खोज, परीक्षण र जनचेतना अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । “कुष्ठरोग केवल रोगमात्र होइन, यो मानवअधिकार र समावेशी विकासको विषय पनि हो । यसको समाधानमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच थप समन्वय आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेपाल सरकारले सन् २०३० भित्र कुष्ठरोगको उन्मूलन गर्ने प्रतिबद्धता जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १० वर्षमा वार्षिक रूपमा औसत दुई हजार ८६७ जना नयाँ कुष्ठरोगका बिरामी फेला परिरहेका छन् । हाल नेपालका १८ जिल्लामा मापदण्डभन्दा बढी अर्थात् प्रति १० हजार जनामा एक जनाभन्दा बढी कुष्ठरोगी पाइने अवस्था रहेको मन्त्रालयको तथ्याङ्क छ । रासस