२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

नेपालयको दुई दिने पुस्तक मेला: पुस्तकमा बिशेष छुट र लेखकसित भेटघाट

नेपालयको दुई दिने पुस्तक मेला: पुस्तकमा बिशेष छुट र लेखकसित भेटघाट
अ अ+ अ-

काठमाडौँ: पब्लिकेसन नेपालयले आफू २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला आयोजना गर्दै छ । नेपालयले आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ । यही वैशाख २७ र २८ गते शनिबार र आइतबार हुने दुई दिने पुस्तक मेलामा लेखकहरुसित भेटघाट र पुस्तकमा हस्ताक्षर पनि हुनेछ ।

पाठकहरुले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकून्, आफ्ना प्रिय लेखकसित भेटघाटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको पब्लिकेसन नेपालयले जनाएको छ । ‘हाम्रो पहिलो पुस्तक पल्पसा क्याफेले धेरै पाठकको माया पायो,’ पब्लिकेसन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले भनिन्, ‘२० वर्षदेखि पाएको मायाको सम्मानमा हामी आफ्नै अफिस कालिकास्थानमा पुस्तक मेला आयोजना गरेर पाठकलाई सुखद अनुभव दिने तयारीमा छौँ ।’

पुस्तक मेलामा नेपालयका ३० भन्दा बढी लेखकको उपस्थिति रहने मास्केले बताइन् । ‘हाम्रा लेखक अच्युतकृष्ण खरेल, अरुणा उप्रेती, आनी छोइङ डोल्मा, आभास, कालीप्रसाद रिजाल, किशोर थापा, कुमार नगरकोटी, गणेशप्रसाद लाठ, गिरीश गिरी, जीवनकुमार प्रसाईं, जेबी दर्लामी, तारानिधि भट्टराई, तुलसी भट्टराई, दिनेश अधिकारी, दुर्गा कार्की, नारायण वाग्ले, निमानन्द रिजाल, पद्मसुन्दर जोशी, महेशराज पन्त, लुज माथेमा, विप्लव प्रतीक, श्रवण मुकारुङ, सुदीप श्रेष्ठ लगायतको उपस्थिति रहनेछ,’ मास्केले भनिन्, ‘लेखकसित भेटघाट, कुराकानी गर्ने मौकामा सहभागी हुन कुनै शुल्क लाग्दैन, पुस्तक ५० प्रतिशतसम्म छुटमा किन्न सकिन्छ ।’

दुई दिने पुस्तक मेलाको आरम्भ जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’बाट हुनेछ । शनिबार बिहान ९ बजे पुस्तक मेला स्थलमा उक्त पुस्तक लोकार्पण हुनेछ । १० वर्ष पहिले नेपालयबाटै प्रसाईंको ‘जीवन जिउने काइदा’ प्रकाशन भएको थियो, जो पाठकको अत्यधिक रोजाइमा पर्छ । यो पुस्तक नवौँ पटक पुनःमुद्रण भइसकेको छ । प्रसाईंको नयाँ पुस्तक इमोसनल इन्टेलिजेन्समा केन्द्रित छ । ‘एआईको जमाना छ तर म इआई अर्थात् इमोसनल इन्टेलिजेन्सतिर लागेको छु,’ लेखक प्रसाईं भन्छन्, ‘१० वर्षमा पाँच पुस्तक लेख्ने जाँगर मलाई असीमित पाठकहरुको प्रेमपूर्ण पठनले नै दिएको हो ।’

पुस्तक मेलाको समापन काव्य अनुष्ठानबाट हुनेछ । नेपालयले तीन वर्षदेखि ई–कविता शीर्षकमा हरेक साता एक कविता प्रसारण गर्छ । थुप्रैडटकम (www.thuprai.com) मा पैसा तिरेर कविता सुन्न सकिन्छ । त्यहाँ प्रसारित ई–कवि र नेपालयबाट काव्य कृति प्रकाशित कवि गरेर १५ जनाले कविता पाठ गर्ने कवि श्रवण मुकारुङले जनाएका छन् । 

ई–कविता संयोजन गर्दै आएका कवि मुकारुङले नै काव्य अनुष्ठान संयोजन र सञ्चालन गर्दै छन् । ‘कवितामा लगानी गर्न धेरै प्रकाशक हिचकिचाइरहेका बेला नेपालयले कविहरुलाई पारिश्रमिकसहित ई–कविता तथा एकै महिनामा दुई कवि कालीप्रसाद रिजाल र दिनेश अधिकारीका काव्य–कृति प्रकाशन गर्नु हामी कविहरुका लागि ठूलो हौसला हो,’ संयोजक कवि श्रवण मुकारुङले भने, ‘नेपालयको पुस्तक मेलामा मसहित अग्रज र अनुज पुस्ताका १५ कविले काव्यपाठ गर्नुहुनेछ ।’

नेपालयले सन् २०२५ को नयाँ वर्षका दिन ‘२०२५ मा २५ का २५’ शीर्षकमा नयाँ पुस्ताका कथा, कविता, निबन्ध आह्वान गरेको थियो । ‘हामीलाई धेरै रचना प्राप्त भएका छन् । ती युवा लेखक र केहीबाट पुस्तक लेखन–प्रकाशन प्रक्रियाबारे धेरै जिज्ञासा आउने हुँदा हामीले पुस्तक मेलामा ती जिज्ञासा सम्बोधन गर्ने प्रयास पनि गर्नेछौँ,’ नेपालयका सम्पादक विमल आचार्यले भने ।

देशको राजधानीमा पुस्तक मेला गल्लीगल्ली, सडकसडक, कुनाकुना, चोकचोक, पसलपसलतिर सधैँ भइरहनुपर्ने जस्तो लाग्छ, सम्पादक आचार्यलाई । उनी आफू काठमाडौँ आउँदा केही वर्षअघिसम्म चोकचोकमा, सडकमा सस्तोमा किताब किनेको स्मरण गर्छन् । ‘महानगरमा खै के भयो भयो, किताब–म्यागेजिन बेच्ने–फिँजाउने मानिसहरु एक्कासि कता हराए, हराए,’ आचार्य भन्छन्, ‘भक्तजन आएनन् भने पनि पूजारीले मन्दिर त खोल्नैपर्छ, पाठक आएनन् भने पनि ज्ञानका मन्दिर बन्द हुनुहुँदैन ।’

 २० वर्षअघि ‘पल्पसा क्याफे‘ प्रकाशन गर्दा आफूहरुले पुस्तक प्याकेजिङ र प्रवद्र्धनमा केही नयाँ प्रयास गरेको स्मरण गर्छन्, नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ । ‘पुस्तक बजारलाई फेरि चलायमान बनाउन हामी फेरि केही सिर्जनशील सक्रियतातिर लागेका छौँ । महिनामा एउटा किताब प्रकाशन, कालिकास्थानको आरशालामा पुस्तक पसल सञ्चालन, पुस्तक मेला, युवाहरुबाट खुला रचना आह्वान जस्ता गतिविधि हामी बढाउँछौँ,’ श्रेष्ठ भन्छन्, ‘देशैभर साहित्य महोत्सव भइरहेका छन्, यो सुखद कुरा हो । तर त्यहाँ किताब पढ्ने, किताब साटासाट गर्ने, किताब किनबेच गर्ने, लेखक र पाठककै बहुमत पो हुनुपर्ने हो कि ?’

दुई दिने किताब मेलाले लेखक, पाठक, समीक्षकहरुमा नयाँ उत्साह ल्याउने विश्वास छ, श्रेष्ठको । यो किताब मेला सफल भएसँगै यस्ता गतिविधि बढाउने तयारी रहेको पब्लिकेसन नेपालयले जनाएको छ ।