२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ खुला: दर्शकमा उत्साह देखियो, हलमा व्यापक शो



अ+ अ-

काठमाडौं। यही शुक्रवार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ ।

टिकट बुकिङ खुल्नासाथ दर्शकको उत्साह उल्लेखनीय रूपमा देखिएको छ र दर्शकहरूले टिकट खरिद गर्न थालिसकेका छन् । टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यो चलचित्रप्रति दर्शकको चासो अझै तीव्र बनेको छ ।

नेपालकै सबैभन्दा ठुलो सिनेमा हल सञ्जाल क्युएफएक्सले मङ्गलवारदेखि नै टिकट बुकिङ खुला गरेको हो । त्यस्तै, काठमाडौं उपत्यकाका बिग मुभिज, आइएनआई, एफक्युब लगायतका हलहरू तथा उपत्यका बाहिरका प्राय: सिनेमा घरले पनि टिकट बिक्री सुरु गरिसकेका छन् ।

वितरक गोविन्द शाहीका अनुसार, यो समाचार तयार पार्दासम्म देशभरका सिनेमा घरहरूले चलचित्रको लागि व्यापक शो प्रदान गरिसकेका छन् । यकिन शोको सङ्ख्या बिहीबार मात्र सार्वजनिक हुने भए पनि तीन सयभन्दा बढी शो देखिने प्रक्षेपण गरिएको उनले बताए । शो सङ्ख्या र दर्शकको चासो हेर्दा चलचित्रले राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

आर्टमाण्डू प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्वीटर’ मा अभिनेता विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा देखिँदै छन् । उनीहरूका साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपाङ्गी मगर लगायतको दमदार अभिनय रहनेछ ।

सङ्गीतमा सुजन चापागाईँ र झुमा लिम्बुको निर्देशनमा बनेका “फूल”, “मखमली”, र “काफ्ले” जस्ता गीतहरूले दर्शकमाझ निकै लोकप्रियता हासिल गरिरहेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्रेलरले पनि चलचित्रको प्रतीक्षा उत्साहजनक बनाएको छ ।

निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ । चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्रको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो । यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।