२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ऊनको स्वीटर’ वर्षौसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की



Oplus_16908290
अ+ अ-

काठमाडौँ। अभिनेता विपिन कार्कीले आफूले वर्षौपछिसम्म सम्झिने चलचित्र ‘ऊनको स्वीटर’ बनेको बताउनुभएको छ ।

आज यहाँ पुतलीसडकस्थित स्टार मल्लमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा चलचित्र ‘ऊनको स्वीटर’ र पात्र धरणीधर काफ्लेको चर्चा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस चलचित्रको व्यवसायिक नतिजाका विषयमा म भन्न सक्दिन, तर हामीले उठाएको विषय, यसको निर्माणले पनि यो वर्षौसम्म रहने चलचित्र बनेको छ । यो नयाँ पुस्ताका लागि एउटा दस्तावेज पनि हुनेछ, ग्रामीण जीवनको । मैले आफ्नो उत्कृष्ट भन्ने पाँच चलचित्रमा यो पर्छ ।”

उहाँले यसअगाडि ‘जात्रा’, ‘हरी’, ‘नाका’, ‘सेल्फी किङ’ चलचित्र र उक्त चलचित्रमा निर्वाह गरेको पात्रलाई विशेष बताउनुभयो । ती चलचित्रको व्यवसायिक पक्षभन्दा पनि कलात्मक पक्षले आफूलाई आकर्षित गरेको उहाँले स्पष्ट गर्नुभयो ।

“मैले नाम लिएका चलचित्रहरू मेरा लागि खास हुनुको कारण नै त्यसका पात्र हुन्, विषय हुन् । ती अहिले हेर्नुस् वा पाँच वर्षपछि उस्तै ताजा लाग्ने छन् । त्यसमा भएका पात्र सजिलै तपाइँसँग जोडिनेछन्”, अभिनेता कार्कीले भन्नुभयो ।

उहाँले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताउनुभयो । चलचित्रमा अभिनेता कार्कीको जोडीको रुपमा अभिनेत्री मिरुना मगर प्रस्तुत हुनुभएको छ । उहाँले चलचित्रका निर्देशक नवीन चौहानले पहिलोपटक कथा सुनाउँदा नै पात्रसँग जोडिएको महसुस गरेको बताउनुभयो ।

“म निर्देशक चौहानले बनाउनुभएका साङ्गीतिक श्रव्यदृश्यसँग प्रभावित थिएँ । यो चलचित्रमा काम गर्ने प्रस्ताव आउँदा मलाई निर्देशकले मेरो पात्र र परिवेससँगै एउटा गीतको सानो टुक्रा सुनाउनुभयो । मैले त्यही समयमा चलचित्रमा काम गर्छु भनेकी थिएँ । किनकि उक्त पटकथाले मलाई चलचित्रको संसारमा सहजै पु¥यायो”, अभिनेत्री मगरले भन्नुभयो ।

उहाँले चलचित्रमा आफूले ‘फूल’ नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पात्र आफ्नो मनको कुरा फ्याट्ट भनिहाल्ने र त्यसको परिणाम नसोच्ने किसिमले तयार गरिएको छ ।

“वास्तविक जीवनभन्दा उल्टो पात्र मैले चलचित्रमा निर्वाह गरेकी छु । त्यसकारण सुरुआती समयमा केही डर पनि थियो, तर अभिनेता कार्कीसँग काम गर्दा अभिनयका केही आयाम सिक्न पाएँ । म बाल्यकालमै नेपाल छाडेर विदेश गएकाले पनि ग्रामीण जीवनलाई धेरै बुझ्न पाएकी थिइन् । तर, मैले चलचित्रमा निर्वाह गर्ने भूमिकामार्फत विभिन्न कला र संस्कृतिलाई नजिकबाट बुझेकी छु, ती चलचित्रका पात्रमार्फत उक्त संस्कृतिसँग जोडिएर जीवन बाच्न पाएँ”, अभिनेत्री मगरले भन्नुभयो ।

निर्देशक नवीन चौहानले चलचित्र नाम झैँ मुलायम कथामा बनेको बताउनुभयो । उहाँले भन्नुभयो,“मैले चलचित्रको कथालाई महसुस गरेर नै नाम राखेको हुँ । मैले कल्पना गरेको एउटा संसारलाई चलचित्रमा चित्रण गर्ने कोसिस गरेको छु । मैले यो चारवर्ष अगाडि नै सोचेको एउटा कथा थियो, अब केही दिनमा चलचित्र बनेर आउँदैछ ।”

उहाँले आफूले साङ्गीतिक श्रव्यदृश्यमार्फत भिन्नभिन्न कथालाई प्रस्तुत गरेका कारण पनि चलचित्र निर्देशन गर्न प्रेरणा मिलेको बताउनुभयो । “गीत र त्यसको लागि निर्माण गरिने श्रव्यदृश्यभन्दा चलचित्र निकै फरक छ भन्ने मैले बुझेर नै त्यहीअनुसार आफूले सक्ने काम गरेको छु”, निर्देशक चौहानले भन्नुभयो ।

चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने उहाँले जानकारी दिनुभयो । पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको चलचित्रमा परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारले पनि अभिनय गर्नुभएको छ ।

निर्माण पक्षका अनुसार यही वैशाख २६ मा नेपालसहित विदेशमा समेत सो चलचित्र प्रदर्शन हुनेछ । रासस