२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन खुल्यो, उद्योग वाणिज्य महासंघको साधारणसभा नरोकिने



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले आज मध्यरातिदेखि लकडाउन हटाएको छ । मन्त्रिपरिषदको बैठकको जानकारी दिँदै सञ्चार मन्त्री डा.युवराज खतिवडाले सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउन आजै मध्यरातिदेखि पूर्ण रुपमा हटाएको जानकारी दिए ।

सो निर्णयअनुसार निजी सवारी साधनहरुमा लगाइएको जोरबिजोर प्रणाली पनि अब भोलिदेखि हटाइएको छ । जसअनुसार भोलिदेखि सबै सवारी साधन चल्नेछन् । 
यसैगरी सरकारले यही साउन १५ गतेदेखि सबै होटलहरु पनि खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यस्तै लामो दुरीका सवारीसाधनका साथै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पनि सोही दिनदेखि गर्ने निर्णय पनि सरकारले गरिसकेको छ । 

यसरी अब सबैतिर खुला भएपछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा पनि सुचारु हुने भएको बताइएको छ । यही साउन २६ र २७ गते सो साधारण सभा काठमाडौँमा हुने तयारी भइरहेको छ ।

लकडाउन जारी नै रहेको र कोरोना भाइरसका संक्रमितहरु पनि बढ्नसक्ने भन्दै सो साधारणसभा नहुने हो कि भन्ने आशंका नेपालका उद्योगी, व्यवसायीहरुमा थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि आज ट्वीट गर्दै कोरोनाजन्य लकडाउनका कारण पूर्व निर्धारित समयमै साधारणसभा सम्पन्न गर्न चुनौतीहरु बढ्दै गएको बताएका थिए । 
तर आज साँझ सरकारले लकडाउन पूर्ण रुपमा हटेको र होटल रेष्टुरेन्टहरु पनि साउन १५ गतेदेखि निर्वाध रुपमा सञ्चालन गर्न दिने निर्णय गरेपछि भने साधारण सभा निर्धारित समयमै हुने नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा प्रतिनिधिहरुले जनाएका छन् । 

साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको उक्त महासंघले जनाएको छ । आगामी हप्ता उम्मेदवारी दर्ताको कार्यतालिका छ । 

आगामी साधारण सभामा चन्द्रप्रसाद ढकाल र किसोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुले आआफ्नो प्यानल पनि घोषणा गरेर निर्वाचनको प्रचार थालिसकेका छन् । 

देशैभरि व्यवसायिक नेटवर्क रहेको साथै नेपालका एकजना चर्चित सफल युवा उद्योगी भएकोले ढकालको पक्षमा मुलुकका बहुसंख्यक उद्योगी व्यवसायीहरुको ठूलो जनमत रहेको महासंघका प्रतिनिधिहरु बताउँछन् ।