काठमाडौं । नेपालको तीन दिने भ्रमणमा आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालमा रहँदा १९ जना नेताहरुसँग भेटवार्ता गरेर फर्किएका छन् । नेता चौथाइवालेले प्रधानमन्त्री, तीन पूर्वप्रधानमन्त्रीसहित १९ जनासँग भेटेर फर्किएका हुन् । उनले संसद्भित्रका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका शीर्ष र दोस्रो तहका नेताहरुसँग अलग–अलग भेटवार्ता गरे ।
बुधबार काठमाडौं ओर्लिएका उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेका थिए । आज काठमाडौं छाड्नु पूर्व उनले एमालेका महासचिव शंकर पोखरले, एमाले नेता उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग छुट्टा छुट्टै भेटेका छन् । त्यस्तै, माओवादीका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र उपाध्यक्ष स्वर्णिम वाग्लेलाई पनि दिल्ली उड्नु पूर्व उनले भेटे ।
यसअघि कांग्रेस नेताहरू शेखर कोइराला, गगन थापा, प्रकाशशरण महत, एनपी साउद र उदयशमशेर राणा त्यस्तै गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा राणालाई उनले भेटेका थिए । माओवादी नेता जनार्दन शर्मालाई पनि उनले छुट्टै भेटे ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि उनले भेटेका हुन् ।
नेपालमा राजावादी समूहले आन्दोलन चर्काएपछि भाजपाका नेता चौथाइवालेको भ्रमणलाई अर्थपूर्णरुपमा मानिएको थियो । उनले नेपालमा रहँदा यहाँका राजनीतिक अवस्थाको राम्रोसँग बुझ्ने मौका पाएका छन् । शीर्षदेखि दोस्रो तहका नेताहरुसँग छुट्टाछुट्टै भेटेका चौथाइवालेले के सन्देश लिएर दिल्ली फर्किएका छन् भन्ने चाहिँ अझै खुलेको छैन ।
चौथाइवाले नेपालका लागि पुराना मित्र हुन् । उनले नेपाल र नेपालीको अवस्थाबारे राम्रोसँग जानकारी राख्ने गरेका छन् । नेपाली नेताहरुका लागि भारतको शक्ति केन्द्र भाजपासँग सम्बन्ध स्थापित गराउने प्रमुख नेतामध्येमै उनी पर्ने गरेका छन् ।
नेपालमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा गडबड हुँदैछ र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस सरकारसँग सन्तुष्ट छैन भन्ने सन्देश प्रवाह भइरहेका बेला चौथाइवालेको यो भ्रमणलाई नेपालको आन्तरिक राजनीतिसँग पनि जोडेर हेरिएको थियो । नभन्दै उनले प्राय: सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर राजनीतिक अवस्था बुझेका छन् । तर उनले नेपालको सत्ता समीकरणबारे खासै चासो नराखेको बताइएको छ ।
चौथाइवालेको नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध मजबुद बनाउनुमै केन्द्रित रहेको बताइएको छ । विशेष गरी अहिले भारत पाकिस्तानबीच सम्बन्ध थप बिग्रिएको छ । भारतको कश्मिरमा गत वैशाख ९ गते भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको घटनाको दोष पाकिस्तानमाथि भारतले लगाउँदै आएको छ । अहिले पाकिस्तानविरुद्ध कारबाही गर्ने मनसायमा भारत देखिन्छ । त्यसका लागि छिमेकको समर्थन जुटाउने प्रयत्नस्वरुप चौथाइवालले नेपाल भ्रमण गरेको हुनसक्ने आँकलन पनि छ । कश्मिरमा भएको आतंकवादी आक्रमणको नेपालले निन्दा गरिसकेको छ ।
नेपालका राजनीतिक दलहरूले सो घटनालाई आतंकवादी हमला भन्दै विरोधमा उभिएका पनि छन् । तर नेपालको असंलग्न परराष्ट्र नीतिका कारण घटनापछि आफूहरूले लिने कतिपय निर्णयमा नेपाल तटस्थ बस्छ कि भन्ने आशंका भारतलाई छ । त्यसैले नेपालको प्रतिनिधिसभामा रहेका दलहरूको समेत समर्थनका निमित्त चौथाइवाले नेपाल आएर नेताहरूसँग छुट्टाछुट्टै संवाद गरेका हुन् ।
चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित पार्टी राजनीतिमा प्रभाव पार्न सक्ने नेताहरूसँग अलग–अलग छलफल गरे । त्यति मात्र नभएर दोस्रो तहका प्रभावशाली मानिएका नेताहरुसँग पनि उनले कुरा गरेका छन् । प्राय: सबै नेताहरुसँगको कुराकानीमा चौथाइवालेले पहलगाम घटनालाई लिएर गम्भीर चिन्ता लिएको देखिएको छ ।
भारतका विदेशमन्त्री एस. जयशंकरको अनौपचारिक दूत बनेर नेपाल आएका चौथाइवालेको भेटघाटको सबै चाँजोपाजो नेपालस्थित भारतीय दूतावासले नै मिलाएको थियो । उसले भेटघाटका निमित्त दलका प्रभावशाली तथा विश्वासिला नेताहरू छानेको थियो ।
चौथाइवालेको भ्रमणलाई जोडेर कतिपय नेपालमा राजसंस्था र हिन्दू राज्यको विषयमा भारतको चासो हो कि भन्ने आशंका गरेका थिए । तर भारतले नेपालमा राजसंस्था र हिन्दू राज्यका बारेमा कुनै चासो देखाएको छैन । बरु भारत आफ्नै समस्यामा नेपालको साथ खोज्न आएको विश्लेषण गरिएको छ ।










