२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनियन्त्रित रुपमा हुने फडानी रोकेर वन क्षेत्रलाई उत्पादनशील बनाउन विज्ञहरु सुझाव



अ+ अ-

काठमाडौं । अनियन्त्रित रुपमा हुने फडानी रोकेर वन क्षेत्रलाई उत्पादनशील बनाउन सकिए समृद्धि हासिल गर्न सकिने विज्ञहरुले बताएका छन । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बुधबार भएको छलफलमा विज्ञहरुले नेपालको वन क्षेत्रलाई उत्पादनशिल बनाउनुपर्ने बताएका हुन् । डा. कृष्णचन्द्र पौडेलले नेपालको आधाभन्दा बढी क्षेत्र ओगटेको वन क्षेत्रको विकास गर्न सके १२ लाख प्रत्यक्ष रोजगारी सिर्जना हुने बताउनुभयो । अहिले १ लाख पूर्णकालिन रोजगारीमा जोडिएको उल्लेख गर्दै उहाँले वन क्षेत्रबाट मात्रै वार्षिक १ खर्ब राजस्व प्राप्त गर्न सकिने बताउनुभयो । वैज्ञानिक वन उत्पादन गर्ने क्षमता मन्त्रालय र उपभोक्तासँग समेत नभएकाले क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

अर्का विज्ञ सन्तोषमणि नेपालले वैज्ञानिक वनको नाममा जथाभावि रुख काट्ने, सोझो सालको मात्रै रुख काट्ने र आर्थिक हिनामिना हुने समस्या देखिएको बताउनुभयो । तोकिएको भन्दा बढी रुक कटान हुने र वैज्ञानिक वनका नाममा हुने गरेको व्यापक भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो । नियामक निकाय र व्यापारिक संस्था फरक हुनुपर्ने उहाँले बताउनुभयो ।

सांसदहरुले यसको व्यवस्थापनका क्रममा आएका समस्याहरु दिगो समाधान गरी अगाडी बढ्नुपर्ने बताएका छन् । वैज्ञानिक वन व्यवस्थापनका लागि बनेका नीति नियमहरुको कार्यान्वयन गर्दै यसको व्यवस्थापन सुधार गर्नुपर्ने उनीहरुको जोड छ । सार्वजनिक लेखा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले उपसमिति गठन गरेर वन व्यवस्थापनका नाममा भएको अनियमितता छानविन गरिरहेको छ । पछिल्लो समय वन फडानी तिव्र गतिमा बढेको, लक्ष्यअनुसारको राजस्व संकलन भएको समस्याहरु बाहिर आएपछि छानबिन सुरु भएको हो । करिब १३ लाखलाई रोजगारी प्रदान गर्दै वार्षिक एक खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य सरकारको छ ।