९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

सरकारले दिने सुशासन र शिक्षकले दिने शिक्षा सडकमा देखिएको जस्तो रमिता नबनोस् !

सरकारले दिने सुशासन र शिक्षकले दिने शिक्षा सडकमा देखिएको जस्तो रमिता नबनोस् !
अ अ+ अ-

काठमाडौं । सरकारले सुशासनको नारा चर्को रुपमा उठाउँदै आएको छ । प्रधानमन्त्री, मन्त्रीहरु मात्र होइन, सरकारमा सहभागी राजनीतिक दलका हरेक नेताले सुशासनको नारा लगाउँदै आएका छन् । तर त्यसको प्रत्याभूति सरकारले दिन सकेको छैन । न समयका कानुन बनेका छन् न त नागरिकले सरकारी सेवा नै सहज रुपमा पाएका छन् ।

संविधानले दिएका अधिकार प्रयोग गर्नबाट नागरिक बञ्चित छन् । कतिसम्म भने अहिले त झन् कलिला बालबालिकाको पढ्न पाउने अधिकारसमेत हनन् भएको छ । सामुदायिक विद्यालयका शिक्षक झन्डै एक महिनादेखि आन्दोलनमा छन् । शैक्षिक हड्ताल घोषणा गरेर आफ्नो अधिकारका लागि लडिरहेका शिक्षकहरुले बालबालिकाको पढ्न पाउने अधिकार भने चटक्क बिर्सिएका छन् ।

शिक्षक आन्दोलन लम्बिँदै जाँदा ५५ लाख विद्यार्थीको भर्ना तथा पठनपाठन ठप्प, कक्षा १२ का ५ लाख विद्यार्थीको परीक्षा र एसईई दिएका साढे ५ लाख विद्यार्थीको नतिजा अनिश्चित भएको छ । सरकारले शिक्षकका समस्या समाधान गर्नुको सट्टा शिक्षकमाथि प्रहरी हस्तक्षेप बढाएको छ । राजनीतिक नेतृत्व, सांसददेखि नागरिक अगुवा र सरोकारवालाले संवादबाटै माग सम्बोधन गर्न सरकारलाई आग्रह गरिरहँदा पनि त्यसको बेवास्ता भएको छ । बरु झडपको अवस्था आएको छ ।

सर्वोच्च अदालतले संवादबाट विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई दिएको ३ दिनको अवधि पूरा हुँदै गर्दा शिक्षक र प्रहरी मुठभेडमा उत्रिएका हुन् । तर शिक्षक र सरकारबीच औपचारिक वार्ता भएर समस्या समाधानको प्रयासमा ठोस प्रगति भएको छैन ।

पठनपाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षासमेत सरेको छ । यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग भएको छ । कतिपय ठाउँमा पालिकामार्फत् शिक्षकलाई धम्की दिन थालिएको छ । सुशासनको नारा बोकेको सरकारले गरेका यी काम पक्कै पनि निन्दनीय विषय हुन् ।

शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक महासंघले गरेको वार्ता सकारात्मक भनिए पनि ठोस सहमति हुन सकेको छैन । त्यसको मार विद्यार्थीले खेप्नु परेको छ । विद्यार्थीहरू भर्ना हुन पाएका छैनन् । एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा हुन सकेको छैन । बालबालिका सार्वजनिक विद्यालय छाडेर निजीमा जाने अवस्था आएको छ । त्यति हुँदा पनि न सुशासनको नारा दिने सरकार चेतेको छ न नैतिक शिक्षा पठाउने शिक्षककै जिम्मेवारी निर्वाह गरेको देखिन्छ ।

संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता सरकारले जनाइसकेको छ । राजनीतिक दलहरु जिम्मेवार भए यो अधिवेशनबाटै विधेयक पारित हुन्छ । तर केही राजनीतिक दलहरुले नै शिक्षकहरुलाई उत्तेजित पार्ने काम गरिरहेका छन् । सरकार आन्दोलनमाथि दमन गर्ने मनस्थितिमा देखिएको छ भने शिक्षकहरु अडानबाट टसमस भएका छैनन् ।

सरकारको सुशासन र शिक्षकको शिक्षाको रमिता सडकमा देखिएको छ । जताततै आन्दोलन चर्किएको छ । सरकारले कुनै पनि आन्दोलनलाई सम्बोधन गर्न सकेको छैन । आफ्नो काम फटाफट गरेर जायज माग सम्बोधन गर्न लाग्नुपर्ने सरकार निरिह जस्तै बनेको छ । शिक्षक, चिकित्सक, सहकारीपीडितदेखि व्यवस्थाविरोधीसम्मले आन्दोलन चर्काएर दबाब दिइरहेका छन् । ती सबै आन्दोलनको असर कतै न कतै जनतालाई नै परिरहेको छ । सुशासनको नारा लगाउने सरकारले त्यसलाई सम्बोधन गर्नु त कता हो कता आफैं रमिते बनेर बसेको छ । आन्दोलनरत शिक्षकले दिएको गुणस्तरीय शिक्षाले पनि गिज्याइरहेको छ ।