
काठमाडौं: सन् २००७ मा पलेँटीमा पहिलोखेप गीत सुनाएकी सङ्गीताले शुक्रबार र शनिबार साँझ फेरि आफ्नो एकल गायन प्रस्तुत गरेकी छिन्। झण्डै २ घण्टासम्म चलेको पलेँटीमा सङ्गीताले दर्जनभन्दा बढी सृजना प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको शुरुवात खयाल गायनबाट भएको थियो । राग ‘रागेश्री‘को विलम्वित लयमा सङ्गीता आफैँले सृजना गरेको बन्दिस (गीत) ‘सब सुख दियौ‘ प्रस्तुत भएको थियो । एकतालबाट शुरु भएको रागले मध्यलय प्रवेश गर्दा दर्शक, श्रोता रोमाञ्चक बनेको अनुभूति हुन्थ्यो । तीनतालमा रहेको मध्यलयको बन्दिस ‘उनि उनि रहिछौ किन हो सङ्गिनी‘ कविवर माधव घिमिरेको शब्द सृजना थियो ।
कार्यक्रमको दोस्रो चरणमा ठुमरी र दादरा प्रस्तुत भएका थिए । पहिलो ठुमरी राग ‘माझ-खमाज‘ मा आधारित थियो । यसपालीको पलेँटीको मुख्य आकर्षण ठुमरीलाई नेपाली भाषामा प्रस्तुत गरिनु थियो । लामो समयदेखि शास्त्रीय गायनमा क्रियाशील सङ्गीता प्रधानलाई ‘ब्रजभाषा‘ र हिन्दीमा मात्र होइन आफ्नै भाषामा पनि ठुमरी गाउन पाए हुने भन्ने सोच निक्कै वर्ष अघिदेखि लागेको रहेछ । त्यो इच्छालाई आंशिक रुपमा भए पनि यसपाली पूरा गरेकी छिन् । यस काममा उनलाई पलेँटी संयोजक आभासले सहयोग गरेका छन् । आभासले माझ खमाजमा रहेको ठुमरीको बोल- ‘झर्झर बर्खा ऋतु आयो‘ र राग पहाडीमा आधारित दादराका निम्ति ‘मौन बसी बित्यो रात‘ लेखेका हुन् । त्यस्तै पुष्प चन्द्रिकामा प्रयोग भएको साहित्य ‘कठिन समयमा, एक मेरो घनश्याम‘ गोपाल योञ्जनले हिन्दीबाट गरेको भावानुवाद रहेको थियो ।
पलेँटी कार्यक्रमको तेस्रो चरणमा भने सङ्गीताले आफ्ना नयाँ पुराना नेपाली आधुनिक गीत प्रस्तुत गरेकी थिइन् । गीति चरणको शुरुवातमा गीतकार कालीप्रासाद रिजालका दुईवटा गीत प्रस्तुत भएका थिए । पहिलो प्रस्तुतिमा ‘कुन पापीले कुन निष्ठुरीले‘ रहेको थियो । जसलाई सङ्गीतकार गुरुदेव कामतले धुन भरेका थिए । गुरुदेवले भरेको धुन नेपाली आधुनिकमा बिरलै सुनिने शैलीको गीत थियो । ‘राग माण्ड‘मा आधारित यो गीत ठुमरी शैलीकै गीत थियो । कालीप्रसादको दोस्रो रचना- ‘जाऊ फेरि मन यो मेरो दुखाएर जाऊ‘लाई सङ्गीतकार आभासले धुन भरेका थिए । यो गीत पलेँटीबाटै प्रथमपटक सार्वजनिक भएको थियो ।
त्यस्तै अर्को गीत- ‘जीवन चुपचाप गुजारेँ त के भो ? तिमीले जित्यौ म हारेँ त के भो ?’ शान्ति ठटालको नयाँ धुन सङ्गीताको स्वरमा गुञ्जिएको थियो । शान्ति ठटालको धुनमा रत्नशम्शेर थापाको सृजना ‘तिर्सना छल्किन्छ‘ र मन्जित तामाङ्को ‘मैले प्रीत लाएँ लाएँ, लाजै नमानी लाएँ‘ गाउँदा सङ्गीता प्रधानको मुहारमा आनन्दको लहर फैलिएको अनुभूत हुन्थ्यो ।
कार्यक्रमा सङ्गीताले आफू काठमाडौं आउँदाका क्षणहरु सम्झँदै र विभिन्न संस्मरण सुनाउँदै गीत गाएकी थिएन् । त्यही क्रममा उनले सङ्गीतकार नातिकाजीसँग आफ्ना पहिलो गुरु सङ्गीतकार मानवीर सिंहले गराइदिएको भेट सम्झँदै ‘आँगनमा आज मेरा प्रियतम आए‘ सुनाएकी थिइन् । निर्मोही व्यासको शब्द सृजना रहेको यो गीत सङ्गीताले रेडियो नेपालमा गाएको पहिलो चरणको गीत हो ।
कार्यक्रममा नेपथ्यका अगुवा अमृत गुरुङले धुन भरेको कवि मञ्जुलको रचना ‘एकान्तमा फूल फुल्छ कि म फुल्छु‘ लाई अत्यधिक रुचाइएको थियो । फर्माइसमा दोहोरिएको यो गीत अमृतले आजभन्दा १८ वर्ष पहिले सङ्गीता प्रधानकै पलेँटीका निम्ति धुन भरेका थिए ।
सङ्गीताले कार्यक्रममा आरति नेवाको शब्दमा रहेको ‘किन हो हजुरलाई आफ्नै भनिदिन मनलाग्छ‘ गाउँदा सङ्गीतकार मानवीर सिंहलाई श्रद्धापूर्वक शब्दाञ्जली अर्पण गरेकी थिइन् ।
कार्यक्रमको अन्त्य भइसक्दा पनि दर्शकहरू आसनमै स्थिर देखिन्थे । पलेँटी हेरेर बाहिरिँदै गरेका शेष नारायणको प्रतिक्रिया थियो- ‘शास्त्रीय सङ्गीत र आधुनिकको सङ्गम गज्जबै सुनिँदो रहेछ; पलेँटी नहुँदा न्यास्रिएका थियौं । आज त्यो नियास्रो मेटियो ।‘ सँगै उभिएका पंकज नेपाल भन्दै थिए – ‘नेपालीमा ठुमरी क्या गजब सुनिने रैछ ।‘
पलेँटीमा बारम्बार आइपुग्ने जर्मन सङ्गीत प्रेमी रेनाटे साम्बोकको प्रतिक्रिया थियो – ‘मैले पहिले पनि यो कार्यक्रम हेरेको छु। मलाई नेपाली गीत मनपर्छ तर नेपाली नारीले गाएको हेरेको यो मेरो पहिलो कन्सर्ट हो । ‘सि ह्याज सच् अ बोल्ड याण्ड ब्युटिफूल भोइस !’
पलेंटी कार्यक्रम हरेक अंग्रेजी महिना को अन्तिम शुक्रबार र शनिबार नेपालयको आर सालामा हुने गर्छ ।