काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारलाई आफ्नो आयुको भन्दा उपलब्धीको चर्चा गर्न चुनौती दिनुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद झाले यस्तो चुनौती दिनुभएको हो । उहाँले सरकारले आफ्नो उपलब्धी सुनाउयो भने सरकारको आयुबारे थाहा हुने टिप्पणी गर्नुभयो । विश्व समुदायमा अर्थतन्त्र र सम्भावित युद्धको बारेमा चर्चा भइरहँदा नेपालका उद्योगमन्त्री चुरोट र रक्सिको लाइसेन्स कतिमा बेच्ने ? भनेर चर्चा गरिरहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले आफ्नो उपलब्धीको चर्चा धेरे गरोस् आफ्नो आयुको भन्दा भन्ने चुनौती पनि दिन चाहन्छु । यति महिनामा हाम्रो सरकारले यो यो गर्यो भनेर परिणामहरु सुनाउनु भयो भने अझै राम्रो सुनिन्थ्यो होला । सरकार ढल्छ कि ढल्दैन भनेर । विश्वजगत एउटा अर्थतन्त्रले तरंगित भएको छ । अहिले सबै देशले अमेरिकासँगको व्यापारको बारेमा वा चीनसँगको निकासी पैठारीको बारेमा वा भारत र पाकिस्तानबीचको सम्भावित यद्धले पार्ने प्रभावको बारेमा यो चर्चा भइरहेको छ । तर हाम्रो उद्योगमन्त्रीहरु चुरोट र रक्सिको लाइसेन्स कतिमा बेच्ने भनेर चर्चा गरिरहनु भएको छ ।’
सरकार गठन हुँदाको सात बुँदे सम्झौता सत्तरुढ दलहरुले नै बिर्सिसकेको उहाँको जिकिर छ । उहाँले वर्तमान सरकार सहकारीमा देखिएका समस्याहरु समाधान गर्ने नाउमा नयाँ दलका नेतालाई थुन्ने काम गरेको आरोप लगाउनु भयो ।










