९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

पुनर्जीवित कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकसित

पुनर्जीवित कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकसित
अ अ+ अ-

वीरगञ्ज, (पर्सा) । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ ।

कृषि औजार कारखाना वीरगञ्जका प्रमुख तथा इञ्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिनुभयो । “केन्द्रले अहिले नेपालका लागि आवश्यक पर्ने कृषि औजार अनुसन्धान तथा विकास गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म साना–ठूला गरेर १६ थरिका औजार अनुसन्धान र विकास गरेका छौँ ।”

केन्द्रले पराल काट्ने, धान काट्ने (रिपर), दाना बनाउने, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्रयाक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने, केराको फाइबर निकाल्ने, गोबर पेल्ने, कोदो रोप्ने मेसिन, चाँप कटर, हाते औजारमा बञ्चरो, खुँडा, साना कुटो कोदाली, चाँपलगायत घरायसी प्रयोजनमा प्रयोग हुने कृषि औजार तयार पारिसकेको छ । “केन्द्रमार्फत कारखानामा अहिले अनुसन्धान र विकासकै चरणमा भएकाले पनि ठूलो मात्रामा व्यावसायिक रूपमा उत्पादन हुन सकिरहेको छैन । यद्यपि सामान्य खालका औजार भने बिक्री वितरण भइरहेको छ”, उहाँले भन्नुभयो, “कोही शुभचिन्तकहरू यहाँ आएर नै कहिलेकाहीँ यहीँ उत्पादन भएका कृषि औजार खरिद गरेर लैजाने गर्नुभएको छ ।”

कारखानाका प्रमुख देवले केन्द्रले केही समयअघि रु ५० लाख खर्चेर सिएनसी मेसिन ल्याएसँगै औजार उत्पादनमा सहजीकरण र सरलता ल्याएको जानकारी दिनुभयो । “सिएनसी मेसिनले नयाँ औजार उत्पादनभन्दा पनि काम गर्नका लागि निकै सहजता गराइरहेको छ । यहाँका कार्यरत इञ्जिनियर तथा अन्य प्राविधिक कर्मचारीलाई काम गर्न सजिलो र सहजता प्रदान गर्दै आइरहेको छ ।”

अहिले कृषि औजार कारखाना वीरगञ्जमा ३६ कार्यरत छन् । “कृषि औजार कारखाना पनि राज्यकै हो, राज्यले नै यसको अनुसन्धान र विकासका लागि ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “देशका किसानका लागि अत्यावश्यक पर्ने सबै खालका औजार यही कारखानाबाट बनाउन पाएको खण्डमा जनता धेरै लाभान्वित हुने थिए ।” कारखानाका प्रमुख देवले तीनवटै तहका सरकार बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले पनि कृषि औजार कारखानाका लागि आवश्यक पर्ने फलामको कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरिदिनका लागि माग गर्नुभएको छ ।

“तयारी अवस्थाका कृषि औजारमा एक प्रतिशतमात्र भन्सार शुल्क लाग्ने गर्छ । तर औजार निर्माणका लागि आवश्यक पर्ने फलामलगायत कच्चा पदार्थको आयातमा कम्तीमा पनि २० प्रतिशत पर्न जाने गर्छ”, उहाँले भन्नुभयो, “विदेशमा बनाइएका तयारी कृषि औजारसँग स्वदेशमा निर्माण गर्ने औजारलाई प्रतिस्पर्धी बनाउन गाह्रो भइरहेको छ । यसले पनि उत्पादनमा धेरै समस्या ल्याइरहेको छ ।” प्रमुख देवले कृषिका लागि आवश्यक पर्ने कच्चा फलामको आयातमा धेरै करको दर भएकाले पनि कृषि औजार कारखाना लागि आवश्यक पर्ने कच्चा पदार्थमा सहुलियत वा छुटको व्यवस्था गरिदिनका लागि आग्रह गर्नुभयो ।

तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना २०२४ साल फागुन २८ गते सञ्चालनमा आएको थियो । कारखानाले सुरुआती चरणमा कृषि औजारको उत्पादन गरेर स्वदेशमा मात्र होइन, विदेशमा निर्यात गर्दै आइरहेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमीकमजोरीले अन्तत: २०५९ सालसम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा आइपुग्यो ।

कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानालाई आवश्यक पर्ने सहयोगका लागि आफूले सहजीकरण गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ मैले कृषिमन्त्रीको पदभार सम्हालेपछि कारखानाको स्थलगत अवलोकन एवं जानकारी लिएँ । कारखानालाई सदृढ बनाउँदै व्यवसायीक उत्पादन गर्न आवश्यक सहयोग गर्न म तयार छु ।”

केन्द्रलाई पुनर्जीवित बनाउने कोसिस जारी

केन्द्रले दुई दशकभन्दा लामो समयदेखि बन्द भएर अलपत्र भएको औजार कारखानालाई पछिल्लो समय पुनर्जीवित बनाउने कोसिस जारी राखेको छ ।

विसं २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखानाले पुनर्जीवन प्राप्त गरेको हो ।

विसं २०७९ असोज ११ गते अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । तर केन्द्रले औपचारिक रूपमा काम सुरु भने २०७९ साल माघमा मात्र थालेको हो । पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको काँधमा कृषि औजार कारखाना आउँदा कारखानाको अवस्था भने निकै दयनीय अवस्थामा थियो । रासस