
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा बोलिएका गलत कुराहरुको तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएको छ ।
शनिवार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले संसदमा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिनुभयो ।
उहाँले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्न आग्रह गर्नुभयो । देश भन्दा ठूलो अरु नहुने भन्दै उहाँले देशप्रति निष्ठा नहुने तत्वहरुको मुखुण्डो उतार्नुपर्ने बताउनु भयो । देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्न, जनतालाई जागरुक बनाउने कुरामा अघि बढ्न आग्रह गर्नुभयो । उहँँले संसदमा गलत कुराहरुको तत्काल, छिटो र छरितो ढंगले प्रतिवाद गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ । किनभने देश भन्दा ठूलो अर्को कुरा हुँदैन । जननी जन्मभूमिश्च, स्वर्गादपी गरियसी । स्वर्ग भन्दा पनि ठूलो भनेको देश हो ।
देशप्रति जसको निष्ठा छैन, त्यस्ता तत्वहरुलाई हामीले तिनको असली चेहरा, तिनको मुकुण्डो उतार्नुपर्छ । हामीले देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्नुपर्दछ । जनतालाई जागरुक गर्नुपर्दछ । हाम्रो भुमिका छिटो, छरितो, तत्काल हुनुपर्दछ । तत्काल बेठिक कुराहरुको बिरुद्ध बोल्ने त्यो तरिका अवलम्वन गर्नुपर्छ । बासी कुराहरुको सन्दर्भमा बोलेर त्यति अर्थ हुँदैन ।’
प्रधानमन्त्री ओलीले आज बोलिएका गलत कुराको प्रतिवाद आज नै गर्नुपर्ने बताउनु भयो ।