
काठमाडौं । शिक्षा मन्त्री रघुजी पन्तसँग आन्दोलनरत शिक्षकको वार्ता जारी छ । मन्त्री पन्तले हिजो आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकलाई वार्तामा बोलाउनुभएको छ ।
सिंहदरबारमा आज जारी वार्तामा शिक्षकका माग सम्बोधनका विषयमा छलफल भइरहेको छ । मन्त्रीसँगको वार्तामा शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्तामा रहेका छन् ।
शिक्षा मन्त्रालयमा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा शिक्षामन्त्रीसँग छलफलमा व्यस्त छन् ।
शिक्षकहरुको आन्दोलन र उनीहरुका माग सम्बोधनका लागि छलफल जारी रहेको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार शिक्षामन्त्रीले बोलाएको बैठकमा प्राविधिक कारण देखाउँदै महासंघ बैठकमा सहभागी भएन । शिक्षा मन्त्रालयले अर्को विज्ञप्ति जारी गर्दै शनिबार बिहानका लागि वार्तामा उपस्थित हुन शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीलाई आह्वान गरेको थियो । सरकारले यसअघि पनि वार्ताका लागि पटक–पटक शिक्षकलाई आह्वान गरेको थियो ।
उता महासंघले चैत २० गतेदेखि जारी शिक्षकहरुको आन्दोलनलाई आज पनि निरन्तरता दिने बताएको छ ।