१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमौली–डुम्रे सडकखण्ड एकतर्फी सञ्चालनमा



अ+ अ-

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको दमौली–डुम्रे सडक खण्डमा शनिबार राति १२ बजेदेखि एकतर्फी सवारी साधान सञ्चालनमा आएको छ । शनिबार बिहान ६ बजेदेखि राति १२ बजेसम्म अहोरात्र खटेर वैकल्पिक मार्ग निर्माण गरेपछि एकतर्फी सवारी साधान सञ्चालनमा ल्याइएको हो । 

जिल्लाको बन्दीपुर–१ नाहालास्थित पृथ्वी राजमार्गमा पहिरो गएर अवरुद्ध भएपछि वैकल्पिक मार्ग खोलेर मर्मत गरेपश्चात राजमार्ग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । सडक डिभिजन कार्यालय तनहुँका इञ्जिनीयरसहितको टोलीले शनिबार बिहानदेखि निरन्तर निर्माण कार्यमा लागेका कारण एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याउन सकिएको उहाँले बताउनुभयो ।
 
वैकल्पिक मार्गमा गर्न लागिएको ग्राबेल बालुवा ल्याउन समस्या भएकाले शनिबार साँझसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलाइ हुन पुगेको प्रजिअ आचार्यले बताउनुभयो । सडकमा अलिकति स्थान खाली हुनेबित्तिकै अन्य सवारी प्रवेश गराइदिँदा ग्राबेल बालुवा ढुवानी गर्न समस्या भएकाले तोकिएको समयभन्दा अलि ढिलाइ भएको उहाँले बताउनुभयो । 

साँझसम्म सवारी आवतजावतको व्यवस्था मिलाउने गरी काम गरे पनि सवारी साधनकै अवरुद्धका कारण सोचेको समयभित्र सम्पन्न गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिएपनि शनिबार बिहान पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाएर काम गर्न लगाइएको तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्सलगायतका अत्यावश्याक सवारीलाई भने निर्वाध रुपमा आवतजावतको लागि व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

गत साउन ४ र ५ गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँचवटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासमा राजमार्ग सञ्चालनमा ल्याइएको थियो । 

चल्यो छाब्दी मार्ग 

प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर जाने छाब्दी मार्ग एक सातापछि आजदेखि सञ्चालनमा ल्याइएको छ । छाब्दी मार्गअन्तर्गत जिल्लाको ब्यास नगरपालिका–१ कदम खोलाको ह्युमपाइप बाढीले बगाउँदा अवरुद्ध भएपछि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको हो । 
गत साउन ४ र ५ गते परेको अविरल वर्षापछि आएको बाढीले कदम खोलाको ह्युमपाइप बगाएपछि आवतजावतमा समस्या भएकाले सुचारु गर्न लागेको कदम खोला छाब्दी मार्ग उपभोक्ता समितिका संयोजक मणिजङ्ग बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त मार्ग सञ्चालनको लागि सडक डिभिजन कार्यालयबाट चारवटा ह्युमपाइप र नगरपालिकाबाट मर्मतको लागि बजेट विनियोजन गर्ने गरी काम शुरु गरिएको हो । शनिबार दुई वटा स्काभेटर प्रयोग गरेर १५ फुटे मार्ग निर्माण गर्न लागिएको छ ।  उहाँले भन्नुभयो । “उक्त मार्ग पुनः सञ्चालन गर्न करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।” 

वर्षायामको समय रहिरहेकाले तत्कालको समस्यालाई मध्यनजर गर्दै वैकल्पिक रुपमा छाब्दीमार्ग पुनः सञ्चालन गर्न लागिएको ब्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले बताउनुभयो । असोज महिना लागेपछि गण्डकी प्रदेश सरकारसँग समन्वय गरी राम्रै किसिमले उक्त मार्ग निर्माण गरिने योजना रहेको नगरपालिकाले जनाएको छ । 

तनहुँको सदरमुकामदेखि करिब ८ किलोमिटर पूर्वमा छाब्दी बाराही मन्दिर अवस्थित छन् । हिउँदमा धुलो र वर्षायाममा हिलाम्ये हुने उक्त सडकको कालोपत्र गर्न बाँकी रहेको भाग तीनवटै सरकारको सहयोगमा कालोपत्र सम्पन्न गरिएको छ । सो मार्गमा कालोपत्र गरिएसँगै हिलो र धुलोमा सामना गर्नुपर्ने समस्याको अन्त्य भएको छ । छाब्दी देवीसँग भाकल मागेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन पूजाअर्चना गर्न आउने गर्दछन् । 




भर्खरै