४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि…

देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि…
अ+ अ-

काठमाडौँ । शिक्षक आन्दोलन तीन साता पुग्न लाग्दैगर्दा शिक्षामन्त्री विद्या भट्टराईले एकाएक राजीनामा दिनुभएको छ ।

सेवासुविधा वृद्धि र वृत्तिविकाससँग सम्बन्धित विविध माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको यस आन्दोलनमा सहभागी शिक्षकहरुले २१ दिनदेखि विद्यालय तहको अध्ययनअध्यापन ठप्प पारेका छन् । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने कक्षा १२ को बोर्ड परीक्षा समेत हुन नदिने वा परीक्षाका कार्यक्रममा सहभागी नहुने चेतावनीले सबैलाई झस्क्याएको छ । स्कुल खुल्ने प्रतीक्षामा रहेका लाखौँ बालबालिका र उनीहरुका अभिभावक अहिले बिलखबन्दमा परेका छन् । नयाँ शैक्षिक सत्रमा भर्ना हुन नपाएका धेरै विद्यार्थी निजी आवासीय विद्यालय (बोर्डिङ)तर्फ आकर्षित हुन थालेका खबरहरु आइरहेका छन् ।

देशभरका विद्यालय ठप्प पारेर आफ्नो माग पूरा गराउन सरकारमाथि चर्को दबाब दिइरहेका शिक्षकहरुको यो आन्दोलन कहिले, कुन रुपमा टुङ्गिन्छ भन्ने कसैले अनुमान लगाउन सकेका छैन । प्रधानमन्त्री र सभामुखसँग समेत वार्ता गरिसके पनि कुनै ठोस निष्कर्षमा तत्कालै पुग्न सक्ने देखिएको छैन । प्रधानमन्त्रीले शिक्षकहरुका जायज मागहरु मात्र पूरा गर्नसक्ने बताउँदै शिक्षकहरुलाई आन्दोलन रोक्न, भर्ना अभियान थाल्न र परीक्षा कार्यक्रमहरुमा सघाउन आग्रह गरे पनि शिक्षक महासङ्घका पदाधिकारीहरुले सरकारको यो आह्वानलाई तत्काल स्वीकार गर्न राजी छैनन् । अर्थात् संसद्मा विचाराधीन विद्यालय शिक्षा ऐन र शिक्षक–कर्मचारीका माग सम्बोधन नहुँदासम्म उनीहरु मैदान नछाड्ने अडानमा छन् । यो अवस्थामा अझै कहिलेसम्म आन्दोलन चलिरहन्छ भन्ने अन्यौल बढेको छ ।

हाम्रो समाजले पेसामध्येको सबैभन्दा पवित्र पेसाका रुपमा शिक्षणलाई लिन्छ । शिक्षण पेसा अवलम्बन गर्दा आमरुपमा शिक्षकले विद्यार्थीलाई के पढाउने ? के सिकाउने ? कस्ता विद्यार्थी उत्पादन गर्ने ? भन्ने हेरिन्छ । चिकित्सक, इञ्जिनियर, वकिल, पत्रकार, राजनीतिज्ञ, कर्मचारी, प्रहरी, सेना, कूटनीतिक व्यक्तित्व, व्यवसायी, उद्योगपति, सिकर्मी–डकर्मी, किसानलगायत सबै नागरिकसँग शिक्षकको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । शिशु कक्षादेखि प्राथमिक तथा निम्न माध्यमिक र माध्यमिकदेखि उच्च माध्यमिक तह, स्नातक, स्नातकोत्तर, एमफिल, पिएचडीसम्म लगभग सबैसँग शिक्षकको नाता सोझै जोडिएको हुन्छ भने अर्कोतिर शिक्षकको सम्बन्ध घर, परिवार, टोल तथा समाजसँग स्वाभाविक रूपमा रहेको हुन्छ ।

नेपालजस्तो भौगोलिक, सांस्कृतिक, भाषिकजस्ता अनेकन विविधता रहेको देशमा शिक्षकले अनेक भूमिका निर्वाह गर्नु परिरहेको हुन्छ, र उनीहरु समाजका पथप्रदर्शकका रुपमा अघिअघि हुनुपर्ने अवस्था छ । तर पछिल्ला घटनाक्रमहरुले नेपालमा शिक्षकहरूको त्यो महत्तो र गरिमामा पछिल्ला वर्षहरुमा कमी आउन थालेको हो कि भन्ने शङ्का उत्पन्न हुँदैछ । शिक्षकहरूले अलिकति पनि सोचेनन् कि २१ दिनसम्म विद्यार्थी विद्यालय जान नपाएर घरमा टिकटक, फेसबुक, युट्युब चलाएर बसेका छन्, टेलिभिजन हेरेर बसेका छन् । उनीहरूको स्कुल भोलि लाग्छ कि पर्सी लाग्छ भनेर पर्खेर बसिरहेका छन्, कतिपयको त बानी नै बिग्रिसकेको हुनसक्छ अध्ययनतिर ।

खासगरी अधिकांश शिक्षक एवं तिनका अगुवाहरू कुनै न कुनै राजनीतिक दलका भ्रातृ संस्थासँग आबद्ध हुनुहन्छ भन्ने समाचार आइरहेका छन् । विद्यार्थीलाई किताबी ज्ञान र जीवन पढाउन–सिकाउनभन्दा राजनीतिको आडमा बेलगाम व्यस्त रहने प्रवृत्ति मौलाएको छ । पढाइमा भन्दा अन्य कार्यहरुमा समय खेर फालेर कैयौँ शिक्षकहरु आफ्नो जिम्मेवारीबाट च्यूत हुनुभएको जगजाहेर छ । आफ्ना सन्तान तथा आफन्तलाई निजी तथा विदेशमा पढाउने, विदेश भ्रमणका लागि लालायित हुने, भ्रष्टाचारमा संलग्न हुने, यौन दूराचारलगायतमा शिक्षकहरु जोडिएको देखिनु अर्को विडम्बना हो । अहिले मुलुकमा शिक्षा र स्वास्थ्य लगभग पूर्णरूपमा व्यापारीकरणको दिशामा गएको छ ।

यस्तो अवस्थामा शिक्षामा समानता कसरी कायम हुन सक्ला ? देशको भविष्य के होला ? पछिल्ला वर्षहरुमा केही सरकारी विद्यालयहरुले राम्रो नतिजासहित नमुना कार्य पनि गरेका छन् । तर शिक्षकका पटकपटकका विरोध प्रदर्शन र आन्दोलनका कारण झाङ्गिएका विकृति र विसङ्गतिले अन्ततोगत्वा अधिकांश सरकारी विद्यालयप्रति घृणा फैलिएको छ भनेर शिक्षकहरु स्वयंले स्वीकार्नुको विकल्प छैन । यही कारण हो, सरकारीको तुलनामा निकै महँगो निजी स्कुलप्रति आकर्षण बढेको छ । यहाँ बिर्सन नहुने कुरा के छ भने कतिपय शिक्षकले निजी स्कुल नै खोलेका छन्, सञ्चालक छन् । उनीहरुलाई सरकारी स्कुल बन्द भएकामा कुनै पश्चाताप हुने कुरै भएन । नत्र, विद्यार्थी भर्ना र परीक्षाको समय पारेर गरिएका यस्ता प्रकारका आन्दोलनले आमरुपमा शैक्षिक क्षेत्रमा कस्तो प्रभाव पार्छ ? हामीले बेलैमा विद्यालय शिक्षामा सुधार नगर्ने हो भने नेपाली विद्यार्थीहरु अध्ययनका लागि भारत, चीन र अन्य देशतिर जाने सम्भावना बढ्दैन र ?

अरुलाई नैतिकताको पाठ सिकाउने र समाजलाई सही बाटो देखाउन प्रयत्न गर्ने शिक्षकहरु वार्ता र संवादको बाटो छाडेर एकोहोरो सडक आन्दोलनमा हिँड्नु विल्कुलै उपयुक्त होइन । इमान्दार शिक्षकले बुझ्न ढिला भएन र रु शिक्षक महासङ्घले विद्यालय खोले रेकर्ड राखेर कारबाही गर्ने चेतावनी दिएको खबर पनि आइरहेको छ, र त्यही डरले पनि कतिपय विद्यालयका शिक्षकहरु जबर्जस्ती आन्दोलनमा सहभागी हुन बाध्य छन् । ‘शिक्षकले राजनीतिक गर्नै हुन्न, उनीहरूले कुनै पनि राजनीतिक दलको सदस्यता लिनै हुन्न, शिक्षकहरूले आफू सरकारी विद्यालयमा अध्यापन गराउने हुँदा आफ्ना छोराछोरी तथा परिवारका सदस्यलाई अनिवार्य रूपमा सरकारी स्कुलमै पढाउनुपर्छ, शिक्षकहरूले व्यापार व्यवसायमा जोडिन मिल्दैन’ भन्ने खालका योजनाहरु तत्कालैअघि नसारे शिक्षकको इज्जत प्रतिष्ठा त माटोमा मिल्छ–मिल्छ, समाजलाई खबरदारी गर्ने मुख्य संवाहकप्रति समाजले प्रश्न उठाउँछ नै । प्रधानमन्त्रीले भन्ने तरिका नमिलेको हुनसक्छ तर शिक्षामा राज्यले लगानी गरेअनुसारको प्रतिफल नआएको कुरा शतप्रतिशत सही हो ।

सडकमा शिक्षकहरुका नारा पनि उदेकलाग्दा छन् । ‘शिक्षकहरूले मन्त्री कसले बनायो ? हामीजस्ता शिक्षकले’ ‘मन्त्री कसले खुस्काउँछ ? हामीजस्ता शिक्षकले’ भन्ने प्रकारका राजनीतिक नारा दिएर भाइरल हुँदै शिक्षकको इज्जत प्रतिष्ठा समाप्त पार्ने बाटोमा गएको देखिन्छ । सडकमा उच्छृङ्खल नाच देखाएर समाजलाई हसाइँरहेका छन्, टिकटकमा भाइरल हुने कार्यहरु गरी समाजका जिम्मेवार पेसालाई एउटा राजनीति गर्ने तथा व्यापारीभन्दा पनि समाजको स्वार्थी मानिसमा परिणत गराउँदै छन् ।

शिक्षकले तत्काल आन्दोलन रोकेर, सरकारसँग यथाशस्य छिटो वार्ता गरेर तत्काल पठनपाठन प्रक्रियामा सहभागी हुनेलगायतका शैक्षिक गतिविधिमा सरिक भई पेशागत मर्यादा बचाउनेतर्फ आदरणीय गुरुवर्गको ध्यान जानु अहिलेको आवश्यकता हो । अहिलेका विषम परिस्थितिमा आफ्नो पेशागत व्यवसायमा पर्केपछि मात्र देशभरका सम्पूर्ण अभिभावक र विद्याथीले राहत पाउने विश्वास गर्न सकिन्छ । अनि गुरु वर्गको पनि इज्जत, प्रतिष्ठा बढ्छ । (लेखक बाबुराम आचार्य नेपाली कांग्रेसका युवा नेता एवं सुनसरी–काठमाडौँ सम्पर्क समितिका सभापति हुनुहुन्छ)