काठमाडौँ । उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँअन्तर्गत बागमती नगर जग्गा एकिकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले प्राप्त उजुरीको आधारमा यादवको २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा निजले वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ ।
अनुसन्धानमा यादवले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट कुल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसाको वैध आय गरेको देखिएको अख्तियारले जनाएको छ ।
तर, सोही अवधिमा उनले घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायत शीर्षकमा कुल ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसाको खर्च गरेको देखिएको छ ।
आयोगले निजको आयभन्दा व्यय अत्यधिक भएको र सो गैरकानूनी रुपमा आर्जन गरिएको सम्पत्ति भएको पुष्टि भएको जनाएको छ ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसारको कसुरमा दोषी ठहर गर्दै दफा २०(२) बमोजिम सजाय माग गरिएको छ ।










