११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती

शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती
अ अ+ अ-

काठमाडौँ । काठमाडौँको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडकखण्ड पछिल्ला २० दिनदेखि अशान्त छ । विभिन्न माग राखेर शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकका कारण हरेक दिन लाखौँ व्यक्तिहरुले दुःख पाइरहेका छन् ।

सरकारसँग विभिन्न माग राखेर आन्दोलित शिक्षकहरु आफ्ना माग पूरा गरेरै छाड्ने र सम्झौतामा नटुङ्ग्याउने नीतिका कारण सरकारसँग वार्ताका लागि पनि तयार भएका छैनन् । उनीहरुले यतिबेला अनौपचारिक छलफललाई भने निरन्तरता दिएका छन् । हरेक दिन ‘पिक आवर’मा प्रमुख मार्ग अवरुद्ध हुँदा यसको मारमा विद्यार्थी, कर्मचारी, व्यवसायीलगायतका यात्रु परेका छन् ।

शिक्षकको आन्दोलनका कारण आफ्नै तालिका नै बिग्रिएको बताउनुहुन्छ, भक्तपुर लोकन्थली बस्ने ३५ वर्षीय रामप्रसाद दाहाल । उहाँ हरेक दिन बिहान साढे ९ बजे लोकन्थलीबाट न्यूरोडस्थित कार्यालयमा काम गर्न जाँदा तीनकुने–माइतिघर सडकखण्ड प्रयोग गर्नुहुन्छ । सामान्यतयाः आधा घण्टा लाग्ने समयमा आज उहाँलाई कार्यालय पुग्न सवा एक घण्टाभन्दा बढी लाग्यो । “जहिल्यै पनि आधा घण्टामा अफिस आइपुग्थे । आज त हाजिर नै छुट्यो । यो आन्दोलन छिटो सकिए हामीलाई पनि राहत हुने थियो”, उहाँले भन्नुभयो ।

पुरानो बानेश्वर बस्ने २८ वर्षीया मीना लामाको पनि समस्या उस्तै छ । उहाँलाई पनि ११ बजेसम्म कार्यालय पुग्नैपर्छ । बैशाखको चर्को घाममा लामो जाम बसेर कार्यालय पुग्न आफूलाई हम्मेहम्मे परेको उहाँको भनाइ छ । आन्दोलनकारीहरुले आफ्ना माग पूरा गराउनका लागि सर्वसाधारणलाई दुःख दिन जायज नभएको उहाँको बुझाइ छ ।

शिक्षकहरुको सुरक्षाका लागि हजारौँ जनशक्ति हरेक दिन खटिएका छन्भने ट्राफिक प्रहरीका लागि सवारी व्यवस्थापन टाउको दुखाइ बनेको छ । शिक्षकको विरोध र्‍यालीका कारण राजधानीको सुरक्षा व्यवस्था, सवारीसाधन आवागमनमा चुनौती थपिएको छ ।

वैशाख ६ गतेसम्म दिनसम्म दिउँसो १२ देखि ३ बजेसम्म शान्तिपूर्ण रुपमा विरोध र्‍याली गरिरहेका शिक्षकहरुले वैशाख ७ गतेदेखि समयतालिका परिवर्तन गरी बिहान ९ देखि १२ बजेसम्म बनाएपछि विद्यार्थी, कार्यालय पुग्ने हतारोमा रहने कर्मचारी, व्यवसायीलगायतका यात्रु सबैभन्दा ठूलो मारमा परेका छन् । मानिसहरु माइतीघरदेखि तीनकुनेसम्म पैदल हिँड्न बाध्य छन्भने सवारीसाधन ‘डाइभर्सन’मा चुनौती थपिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार आन्दोलनका कारण यात्रुहरुले निकै दुःख पाएको बताउनुहुन्छ । अझ कार्यालय समयमा सडक ठप्प हुँदा समयमै कार्यालयमा पुग्न समस्या भइरहेको उहाँको भनाइ छ ।

“बानेश्वर–माइतीघरमा मानिसहरु जम्मा हुँदा सवारीसाधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरी सञ्चालन गरिएको अवस्था छ, सवारीसाधनलाई तीनकुने, रणोद्वीप, कृष्णपाउरोटीलगायतका स्थानबाट डाइभर्सन गरिएको छ”, प्रहरीले भनेको छ । डाइभर्सनका कारण पुरानो बानेश्वर, सेतोपुल, सिंहदरबार दक्षिणढोका, माइतीघर, अनामनगर, हनुमानस्थान, थापागाउँ हुँदै चल्ने सवारीसाधनलाई ‘क्यू’मा सञ्चालन गरिएको छ ।

पिकआवरमा बढेका सवारीसाधनका कारण काठमाडौँ उपत्यकास्थित कोटेश्वर, गौशाला, जयबागेश्वरी, मित्रपार्क, चाबहिल, सोह्रखुट्टे, लैनचौर, रणोद्वीप, त्रिपुरेश्वर, टेकु, कालोपुल, थापाथली र कुपण्डोल हुँदै चल्ने सवारीसाधन पनि क्यूमै चलेको प्रहरीको भनाइ छ ।

मुलुकमा विभिन्न क्षेत्रबाट काठमाडौँ केन्द्रित भएका शिक्षकहरुका पनि आफ्नै समस्या छन् । लामो समयसम्म काठमाडौँमा बस्दा खर्चको जोहो गर्न पनि उनीहरुलाई हम्मेहम्मे परिरहेको छभने केही शिक्षकहरु आफन्तकहाँ आश्रय लिइरहेका छन् ।

चैत र वैशाखको टन्टलापुर घाममा उनीहरुले कहिले गीत गाएर त कहिले कवितामार्फत शिक्षकहरुले आफ्ना माग राखिरहेका छन् । उनीहरुले विभिन्न गीत र नृत्यमार्फत विरोध र्‍यालीलाई रोमाञ्चक पनि बनाइरहेका छन् । उनीहरुको विरोध र्‍यालीका कारण सिंहदरबार, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर, शङ्खमूल, माइतीघरलगायतका क्षेत्र सामान्य बन्न सकेको छैन ।

विभिन्न भागबाट काठमाडौँ आएका शिक्षकका कारण विद्यालयको शैक्षिक तालिका प्रभावित भएको छ । नयाँ शैक्षिकसत्र सुरु हुँदा भर्नालगायतका प्रक्रियाका लागि विद्यालयमा खटिनुपर्ने शिक्षक काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुँदा सामुदायिक विद्यालयको पठनपठान र शैक्षिक क्रियाकलाप प्रभावित भएको छ ।

माग पूरा गर्नका लागि नेपाल शिक्षक महासङ्घका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुुख देवराज घिमिरेसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी माग सम्बोधनका लागि आह्वान गरिसकेका छन् । उनीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश थापा तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० महासचिव शङ्कर पोखरेललगायतले पनि पहल गर्नुभएको छ ।

साथै उच्चस्तरीय राजनीतिक पहलसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घबीच अनौपचारिक तहमा कुराकानी भइरहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय शिक्षा विधेयक, २०८१ ले नसमेटेका व्यावहारिक र न्यायिक मागहरुलाई पारस्परिक संवादका आधारमा प्याकेजबाटै सम्बोधनको तयारी भइरहेको बताउनुहुन्छ ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनौपचारिक कुराकानी भए पनि ठोस उपलब्धि हासिल नभएकाले अझै केही दिन आन्दोलन गर्नुुपर्ने स्थिति रहेको बताउनुभयो । उहाँले कुनै पनि हालतमा माग पूरा गरी छाड्ने नीतिका साथ आफूहरुले आन्दोलन अघि बढाएको बताउनुहुन्छ ।

आन्दोलनमा अनिवार्य उपस्थिति भनिएका कारण सडकमा ७७ वटै जिल्ला र ७५३ स्थानीय तहबाट प्रतिनिधित्व गर्दै शिक्षकको उपस्थिति छ । सरकारले भने शिक्षकहरुलाई वार्तामा आउन र घर फर्कन आग्रह गरेको छ । शिक्षकहरु भने आश्वासनकै भरमा नफर्किने अडानमा छन् । यता सवारी जामले गर्दा विद्यार्थी, कर्मचारी, सर्वसाधारण तातो र चर्को घाममा हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।