काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा परेको छ ।
रविकी श्रीमती निकिता पौडेलको तर्फबाट दायर भएको रिट आज सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा पेशी तोकिएको थियो । सो मुद्दा हेर्न नमिल्नेमा परेको हो ।
रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा दायर रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय , रुपन्देही जिल्ला अदालत रुपन्देही , उच्च अदालत तुलसीपुर बुटवल इजलास,जिल्ला प्रहरी परिसर भद्रकाली,कारागार कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देहीलाई विपक्षी बनाइएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवलले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो ।










