काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रबाटै पक्राउ परेका छन् ।
सिंहदरबारभित्र प्रदर्शनमा उत्रिएपछि प्रहरीले नेताहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले सिंहदरबारमै राखेको छ।
नेताहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो ‘सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार भित्रै गिरफ्तार गरेको छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्नुभएका राप्रपाका अध्यक्ष र नेताहरुलाई अविलम्ब रिहा गरियोस् ।’
राप्रपाले गत वर्षको चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।










