काठमाडौँ । शिक्षक महासंघले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो ।
‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै, देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई महासंघले आग्रह पनि गरेको छ ।
यस्तै, महाससंघले आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन शिक्षकहरूलाई निर्देशन समेत दिएको छ ।
कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । १९ दिनदेखि शिक्षकहरु काठमाडौंमा आन्दोलनरत छन् ।












