
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा नेपाली काँग्रेसका नेता एवं जिल्ला विकास समिति गोरखाका पूर्वसभापति स्व। चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति तथा ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्र नै प्रमुख कुरा रहेको बताउनु भयो । उहाँले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एक अर्काका राम्रा गुणहरू सिक्दै र खराब गुणलाई त्यागेर अगाडी बढ्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न सकिने धारणा राख्नुभयो । पछिल्लो समय प्रतिगामी तत्वहरू सलबलाउन खोजेको भन्दै अध्यक्ष डा। भट्टराईले राष्ट्र हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रही सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
डा. भट्टराईले भन्नुभयो, “लोकतन्त्र नै प्रमुख कुरा हो । उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र यी एउटै रुखका दुई वटा हाँगा हुन् । हामीले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एक अर्काका राम्रा गुणहरू सिक्ने, खराब गुणलाई त्याग्ने गरी अगाडी बढ्यौँ भने हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अगाडी जान सक्नेछौँ । अहिले विभिन्न ढङ्गले प्रतिगामी तत्त्वहरू सलबलाउन खोजेका छन् । यस्तो अवस्थामा हामीले राष्ट्र हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अगाडी बढौँ ।”
अध्यक्ष डा. भट्टराईले आफू काँग्रेस र कम्युनिस्ट दुवै गुण भएको र अलि अगाडी बढेको मान्छे भएको जिकिर गर्नुभयो । उहाँले आफू सामन्तवाद, निरङ्कुशता र राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे भएको बताउँदै ०३३ सालसम्म काँग्रेसको निकट र त्यसपछि २०७३ सम्म कम्युनिस्ट पार्टीमा रहेर राजतन्त्रको विरोधमा खरो प्रस्तुत भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “म त सामन्तवाद, निरङ्कुशता र राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे हो । त्यसैले ०३३ सालसम्म काँग्रेसको निकटमा रहे । म कुनै पार्टीमा थिइन । नातागोताहरू सबै काँग्रेसी हुनुहुन्थ्यो । त्यति बेला बिपीले राजासँग मेलमिलाप भनेर आउनुभयो, त्यति बेला बिपीलाई नै यो ठिक छैन भनेर भनेको थिए । पछि, कम्युनिस्टहरूले राजतन्त्र अन्त्यको नारा दिन्थेँ । त्यस बेला गणतन्त्रको पक्षमा रहेका कम्युनिस्टहरूसँग लागेर ०७२ सालसम्म कम्युनिस्ट पार्टीमा रहे । मेरो सार नै राजतन्त्र ठिक होइन भन्ने हो । म अलिकति काँग्रेस हो । अलिकति कम्युनिस्ट हो । दुवैको गुण भएको र अलि अगाडी बढेको मान्छे हुँ ।”
उहाँले राजनीतिमा मूल्यमान्यता र निष्ठा भन्दा व्यक्तिका तडकभडक र सम्पतीको मोह हावी भएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।