१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
अ अ+ अ-

कमलामाई । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि सत्कारका लागि राखिएका मुड्का कुनै खाली छैनन् ।

मञ्चमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मले विभिन्न लोपोन्मुख सांस्कृतिक प्रस्तुतिहरु पस्किरहेका छन् । दर्शकदीर्घा हरेक दिन भरिन्छ, बच्चादेखि बुढासम्मको उपस्थितिले । २०८१ चैत २८ गतेदेखि यहाँ राष्ट्रिय कला महोत्सव चलिरहेको छ । महोत्सवमा नेपालको मौलिक जीवनशैली झल्किने वस्तुहरू सजिएका छन् । परम्परागत घरको नमूना बनाइएको छ । यहाँ प्रदर्शन गरिएका रोङ्गटे पिङ, ऐतिहासिक पुरातात्विक सामग्रीहरु, मौलिक बाजागाजादेखि जातीय झाँकी, गीत, लोक नृत्यमा संस्कृति बोलिरहेको छ । अर्गानिक खाद्यवस्तु, चियादानीमा उमालेको चिया र घरजत्रै ठेकीको मोहीसम्ममा नेपालीपन झल्किएको देखिन्छ ।

खैंजडी भजनको लय, सुर र ताल, लोकदोहोरीको मिठास, स्थानीय र राष्ट्रिय कलाकारहरूको मन छुने प्रस्तुति महोत्सवका विशेषता हुन् । महोत्सवको भव्य उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबाट भएको थियो । वैशाख ३ गतेसम्म चल्ने यो महोत्सवमा हजारौँ दर्शकले आ–आफ्नो संस्कृति र पहिचानलाई नजिकबाट सिक्न, बुझ्न पाइरहेका छन् ।

चपौली, बागमती प्रदेशको कमलामाई नगरपालिका–३ सिन्धुलीमा पर्दछ । यहाँको शान्त र सुरम्य परिवेशमा निर्माणाधीन छ, ‘राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघर’ । कलाघर पुग्न बिपी राजमार्गको सोलाभन्ज्याङ हुँदै सिन्धुलीगढी पार गरेर सात किलोमिटर अगाडि बढ्नुपर्छ । कालोपत्र सडकले यहाँ पुग्न सहज बनाएको छ । महोत्सव नचल्दा पनि पर्यटकलाई आकर्षित पार्दै गइरहेको यो स्थानले सिन्धुलीलाई कला नै कलाको पहिचानका रुपमा चिनाउँदै छ ।

सिन्धुली कलाघरको प्राण हुनुहुन्छ, कलाकार चित्रबहादुर थापामगर ‘सुमन’ । चपौलीको स्थानीय बासिन्दासमेत रहनुभएका उहाँ सिन्धुली कलाघरको परिकल्पनाकार हुनुहुन्छ । कलाघरभित्र अनेक कलाहरु निर्माण गरी प्रदर्शनमा राखिएका छन् । चार रोपनी क्षेत्रफलमा फैलिएको कलाघर परिसरमा धार्मिकस्थल पशुपतिनाथ, बौद्धस्तूपा, भगवान् गौतमबुद्धको जन्मस्थान लुम्बिनी, जानकी मन्दिर, नौतले धरहरा, डम्फु, विश्वकै ठूलो सारङ्गी, मादल, मौलिक घुमाउने घर, लटरम्म फलेको जुनारको बोट, काठ तथा जराबाट बनाइएका कलाहरु, नेपाली मौलिक लोकबाजाहरु, परम्परागत लोपोन्मुख घरेलु तथा कृषि सामग्रीहरु, क्यानभास चित्रहरुलगायतका मौलिक संरचनाहरु कलामा रङ्गिएर बसेका छन् ।

सिन्धुली कलाघर नेपाली मौलिकताको सम्मान, संस्कृति प्रवद्र्धन र सम्पूर्ण कला सिकाइको केन्द्र हो । बाहिरबाट हेर्दा सामान्य देखिने कलाघरभित्र अद्भुत कलाहरु सङ्ग्रहित छन् । गौरीशङ्कर हिमालको टाकुरोबाट टल्किने दृश्य यहीँबाट देखिन्छ । प्राकृतिक सुन्दरता, शान्त परिवेश र प्रेरणादायी वातावरणले यहाँ पुग्ने सबैको मन मोहित बनाउँछ ।

अबको १० वर्षभित्र १९५ मुलुकलाई कलाको स्वरुपमा उतारेर कलाघरलाई ‘विश्व कलाघर’ का रुपमा विकास गर्ने सङ्कल्पका साथ खटिएको सिन्धुली कलाघरका अध्यक्षसमेत रहनुभएको कलाकार सुमनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कलाघरलाई यतिमै सीमित राख्दैनौँ, यो हाम्रो जीवनशैली, संस्कार र सम्पदा हो । कलाकारको आश्रम, सांस्कृतिक विश्वविद्यालय र कला अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्य बोकेर हामी यो महाअभियानमा होमिएका छौँ ।”

कलाघरभित्र कला आश्रम पनि बन्नेछ । जहाँ जीवनभर कलामा समर्पित कलाकारले बुढ्यौलीपन सम्मानका साथ बिताउन सक्नेछन् । जसबाट कलाकारको जीवनभरको साधनालाई सम्मान हुनेछ । “कलाकारको पनि बुढ्यौली आउँछ, रोगले गाँज्छ । त्यसबेला कलामा रमाएर जीवन बाँच्न सकियोस् भनेर कला आश्रम निर्माण गर्नुपर्छ भनी लागिपरेका छौँ,” कलाघरको नेतृत्व गरिराख्नुभएका सुमनले भन्नुभयो ।

कला बचाउन सके देश बच्छ भन्ने बुझाइ भएका कलाकार सुमनसँग धेरै विधाका कला अनुभव छन् । नेतृत्वकला, वाद्यवादन, अभिनय, कार्टुन निर्माण, नाटक लेखन तथा भिडियो निर्देशन, उद्घोषण, मार्सलआर्ट, काष्ठ तथा हस्तकला, नृत्य, क्यारिकेचरलगायत विविध सिर्जनात्मक कला उहाँले कलायात्राकै दौरानमा बटुल्नुभएको हो ।

आफूले बटुलेका कला आफैँभित्र मात्रै सीमित राख्नुभएन बहुप्रतिभाका खानी कलाकार सुमनले । ज्ञान बाँडे बढ्छ भनेझैँ उहाँले आफूले सिकेका कला अरूलाई पनि सिकाउनु भयो । जसले पहिचान बनाए उहाँ जस्तै कलाकारको । जो आज सुमनकै परिकल्पना र अवधारणालाई सार्थक बनाउन रात–दिन नभनी पसिना बगाइरहेका छन्, कलाकारहरु–पवित्रा रम्तेल, रीता थिङ, निरुता लामा, सञ्चिता थापामगर, रीता विश्वकर्मा, रिता तामाङ, रुविना पुलामी, सिर्जना गोले, अम्बिका पुलामी, गङ्गा ठटाल, सिद्धबहादुर विक, पदमबहादुर सार्की, जीवन थापामगरलगायत ।

युवाहरु वैदेशिक रोजगारीमा पलायन भइरहेकै बेलामा आफ्नै थातथलोमा बसेर कला र संस्कृतिलाई संरक्षण, संवद्र्धन गर्ने उद्देश्य राखेका उनीहरुले कलालाई मनोरञ्जनका रुपमा मात्रै होइन, रोजगारी र आत्मनिर्भरताको आधारका रुपमा पनि लिएका छन् । कलाघरका सबै कलाकारहरु पञ्चेबाजा बजाउनदेखि नाच्न, गाउन पनि उत्तिकै सिपालु छन् । उनीहरुलाई देश तथा विदेशका विभिन्न ठाउँहरुमा प्रस्तुतिका लागि बोलाउने गरिएको छ । जहाँ पुग्दा पनि आफ्नो कला, गलाले सबैको मन जितेर फर्कन्छन् । एक पटक बोलाएको ठाउँमा पटक–पटक बोलाउँछन् । उनीहरुको जीविका यसैबाट चलेको छ नै कलाघर निर्माणमा समेत मद्दत पुगेको छ ।

बाहिरी कार्यक्रमबाट फुर्सद मिल्नासाथ कलाकारहरु कलाघर फर्कन्छन् । कसैले बाजाको अभ्यास गर्न थाल्छन् । कसैले नृत्यमा पारङ्गत हुन प्रयास गर्छन् । कसैले गीतलाई प्रभावकारी बनाउन रियाज गर्छन् । फलाम, काठ, ढुङ्गा र माटामा विभिन्न कलाकृति खोज्न कसिन्छन् । सिन्धुली कलाघरको समूह नेपाली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा समर्पित छ । विशेषगरी, लोप हुँदै गएका परम्परागत बाजाहरू बचाइराख्ने कार्यमा कलाघर अग्रसर छ । नेपाली संस्कृतिमा कुनै पनि महत्वपूर्ण कार्य साइतमा गरिन्छ, र यस्ता साइतहरूलाई मङ्गलमय बनाउन मङ्गल धुन बजाउने परम्परा छ । जसका लागि अहिले देश–विदेशका धार्मिक, सामाजिक, साङ्गीतिक र सांस्कृतिक समारोहमा कलाकारका पञ्चेबाजा बजाउने महिला कलाकारको माग बढ्दो छ ।

मौलिक पोसाकमा सजिएर दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाईको तालमा नाचेर कलाकारले दर्शकलाई नेपालीपनमा झुम्ने बनाउँछन् । पञ्चेबाजामा नेपाली संस्कृतिको आफ्नै भव्यता र गरिमा छ । एक समय महिलाले बाजा छुनु पनि अपवित्र मानिन्थ्यो, तर अहिले कलाघरका महिलाहरू बाजा बजाउने मात्र होइन, प्रशिक्षण दिनेसम्मको भूमिकामा छन् ।

कलाघरको महिला पञ्चेबाजा समूहले राष्ट्रियस्तरका प्रतिस्पर्धामा समेत उत्कृष्ट सफलता हात पारिसकेको छ । विवाह, व्रतबन्ध, उत्सवदेखि अन्तरराष्ट्रिय साङ्गीतिक कार्यक्रममा समेत कलाघरको समूहलाई निमन्त्रणा आउँछ । “पुराना बाजाहरू हराउँदै जान थालेपछि हामी संरक्षणमा लाग्यौँ । बाजा भएर मात्रै भएन, बजाउने सीप पनि चाहियो भनेर बजाउन सिक्यौँ । अहिले विभिन्न कार्यक्रम, समारोहमा व्यावसायिक हिसाबले बजाउँदै हिँड्छौँ । नयाँ पुस्तालाई सिकाउन पनि सुरु गरेका छौँ,” कलाकार तथा कलाघरकी उपाध्यक्ष पवित्रा रम्तेलले सुनाउनुभयो ।

नेपाली मौलिकता र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने कलाघरको अभियान बिस्तारै साकार बन्दै गएको उहाँले बताउनुभयो । २०७५ सालमा सिन्धुलीमाडीमा सिन्धुली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा आफ्नो कलाले पाएको प्रशंसाले कला संरक्षणको सपना जागाएको थियो, सुमनलाई । त्यही सपना साकार पार्ने सोचमा जन्म भएको हो, सिन्धुली कलाघरको ।

कलाकार समुनको नेतृत्वमा रहेको कलाघर समूहले आफ्नै मेहनत र सिर्जनात्मकताबाट धेरै संरचनाहरू बनाइसकेको देख्न सकिन्छ । खुल्ला चौरबाट सुरु गरिएको सङ्घर्षले आज चार रोपनी क्षेत्रमा राष्ट्रिय कला सङ्ग्रहालय, सिन्धुली कलाघर निर्माणधीन छ । तर, कलाघरले अघि सारेको दीर्घकालीन लक्ष्य, उद्देश्य, योजना र अवधारणाअनुसार संरचना विस्तारका लागि जमिनको थप आवश्यकता परेको छ ।

कलाघरलाई विश्व कलाघरका रूपमा विकास गर्दै १९५ राष्ट्रको सांस्कृतिक प्रतिनिधित्व गर्ने लक्ष्य साकार पार्न अझ धेरै ठाउँको खाँचो छ । कलाकारका लागि आवासीय कला आश्रम, सांस्कृतिक विद्यालय, र पाठशालाहरू निर्माण गर्न हालको जमिनले पुग्दैन ।

योजनाहरू महत्वकाङ्क्षी छन्, तर ती योजना कार्यान्वयनमा ल्याउन आर्थिक स्रोतको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको छ । कलाघरका योजना सुन्दा जति भावुक बनाउँछ, कार्यान्वयन उत्तिकै कठिन छ । तर, कलाघर समूहले हरेस खाएको छैन । “पैसा छैन, तर हिम्मत छ । हामी दिनरात नभनी पसिना बगाइरहेका छौँ । बनाउन सक्छौँ–सबैको साथ रह्यो भने,” कलाकार तथा सिन्धुली कलाघरकी उपाध्यक्ष पवित्रा रम्तेलले भन्नुभयो ।

हालसम्म सहयोगीका रूपमा केही समाजसेवी, स्थानीय सरकार, सङ्घसंस्था, र कलाप्रेमी अगाडि आएका छन्, तर त्यो पर्याप्त छैन । नेपालको मौलिक कला, संस्कृति र पहिचान जोगाउ र यसलाई विश्वसँग जोड्न स्थानीय, प्रदेश र सङ्घ सरकारसँग हारगुहार गरिरहेका छन्, सिन्धुली कलाघर समूह । “हामीसँग लक्ष्य, उद्देश्य, योजना र जनशक्ति छ, तर स्रोत छैन । हाम्रो कलालाई विश्वसामु उभ्याउन, सिन्धुली कलाघरलाई ‘वल्र्ड आर्ट हाउस’का रुपमा विस्तार गर्न सरकारको दरिलो साथ चाहिएको छ,” कलाकार रीता विश्वकर्माले सुनाउनुभयो ।

सिन्धुली कला सङ्ग्रहालयमा राखिएका लोपोन्मुख सामग्री, ऐतिहासिक र सांस्कृतिक कलाकृतिहरू तथा कलाकारहरुको अद्भुत कला अनि सांस्कृतिक प्रस्तुतिहरुले स्थानीय र विदेशी पर्यटकहरूको ध्यान आकर्षित गर्न सफल भएको कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

नगरपालिकाले कलाघरले गरिरहेको सिर्जनात्मक र मौलिक कलाको उजागर, संरक्षण र प्रवद्र्धनमा निरन्तर सहयोग गर्ने उहाँको भनाइ छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आगामी आर्थिक वर्षमा कला र संस्कृति संरक्षणमा बागमती प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभयो । कला र संस्कृतिलाई जोगाउन सकेमा राष्ट्रिय एकता र समृद्धि बलियो हुने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माको धारणा छ । नेपाली मौलिक कला, संस्कृति र पहिचानलाई बचाइराख्ने अभियानमा जुटेको सिन्धुली कलाघर अब सरकारको साथ र समर्थनमा अघि बढ्नेमा सङ्घीय सांसद सुशीला थिङ ढुक्क हुनुहुन्छ । राधिका बुढाथोकी/रासस