१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

उपत्यकामा संक्रमित सहजै आउजाउ

उपत्यकामा संक्रमित सहजै आउजाउ
अ अ+ अ-

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी सोमबार काठमाडौं आए– नगर विकास कोषको बैठकमा सहभागी हुनका लागि । कार्यक्रममा बसिरहँदा स्वास्थ्य अवस्था असहज भएपछि उनी केही बेरमै बाहिरिए ।  जाँच गराउन ललितपुरको मेडिसिटी अस्पतालमा पुगे । स्वाब पनि दिए । चिकित्सकले ज्वरो कम गराउन एन्टिबायोटिक दिए ।

‘औषधि खाएको रातिदेखि नै ज्वरो निको भयो,’ उनले भने, ‘निको भए पनि जिल्ला फर्केको छैन । तीन दिनदेखि ललितपुरस्थित छोरीको अपार्टमेन्टमा आराम गरेर बसिरहेको थिएँ । पीसीआर रिपोर्ट पोजिटिभ आएछ ।’

टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी्) का कर्मचारीले बिहीबार उनलाई फोन गरेर स्वास्थ्य अवस्था सोधे । उनको स्थायी ठेगाना र जिल्लाबाट काठमाडौं आएको दिन, भेटघाट आदिबारे पनि जानकारी लिए । अनि ती कर्मचारीले ‘अब काठमाडौं बाहिर नजान’ भनेपछि उनी झस्किए । उनी सहभागी बैठकमा बुटवल, पोखरा, वीरगन्ज, दमक, कैलाली, धुलिखेललगायत स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए ।

५४ वर्षीय मेयर सरावगीले फेसबुक पेजमार्फत आफूलाई संक्रमण देखिएको बिहीबारै साँझ नै सार्वजनिक गरेका छन् । ‘वीरगन्जवासीको सेवामा अनवरत रूपमा लाग्दालाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैलै छिट्टै नै कोरोनालाई जित्नेछु,’ उनले फेसबुकमा लेखेका छन् ।

****

काठमाडौंमा संक्रमित देखिएकामध्ये अर्का हुन्, वीरगन्जबाट पेन्सन बनाउन आएका शिक्षक । पेन्सनपट्टा बनाउन गाडी रिजर्भ गरेर उनीसहित तीन जना शनिबार काठमाडौं छिरेका थिए । गाडीबाट ओरालेर उनीहरूको नागढुंगा नाकामा स्वाब संकलन गरिएको थियो । उनीहरू त्यस दिन कुलेश्वरस्थित आफन्तकहाँ बसे । आइतबार शिक्षक किताबखाना छाउनीमा पेन्सनपट्टा बनाउन पुगे । मंगलबारसम्ममा सबैतिरको काम सकाएका उनीहरू तीनै जना बुधबार जुन गाडीमा आएका थिए, त्यसैमा फर्किंदै थिए, टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कर्मचारीले फोन गरे । फोन गर्ने कर्मचारीले ‘अस्पताल जान तयारी अवस्थामा बस्न’ भनेपछि उनी झस्किए । बल्लो पो उनले चार दिनअघि नागढुंगामा स्वाब दिएको सम्झिए । काठमाडौंको आइसोलेसनमा राख्न उनको खोजी हुँदा उनी वीरगन्ज फर्किंदै थिए । ‘यहाँ आएर पेन्सनपट्टा बनाएर घर फर्केपछि मात्रै तीन शिक्षकमा कोरोना भएको थाहा पायौं,’ शिक्षक किताबखानाका निमित्त महानिर्देशक दिनेश श्रेष्ठले भने, ‘संक्रमितले काम पूरा गर्न हामी क–कसलाई भेटे भनेर अनुमानका आधारमा बिहीबार ९ जनाको पीसीआर गर्न पठायौं ।’ वीरगन्जबाट सँगै आएका तीन जनामध्ये ती शिक्षकलाई मात्रै कोरोना देखिएको छ ।

****

भारतको सीतामढीबाट असार २३ मा काठमाडौं आएकी २४ वर्षीया युवतीलाई पनि साउन ९ मा कोरोना देखियो । काठमाडौं आएको १८ दिनपछि मात्र उनलाई कोरोना भएको थाहा भयो । उनका आमाबुबा र अरू आफन्त असनमा व्यापार गर्थे । लकडाउनअघि नै भारत गएकी उनी लकडाउन खुकुलो भएसँगै काठमाडौं आएकी थिइन् । भारतको सीतामढीबाट फर्केकी उनलाई जीउ दुख्ने, स्वाद थाहा नपाउने स्वास्थ्य समस्या देखियो । २२ वर्षीय भाइलाई ज्वरो र खोकी हुनुका साथै जीउ र घाँटी दुख्ने समस्या देखिएपछि उनीहरूले एकैपटक कोरोना परीक्षण गर्न स्वाब दिए । दुवै जनाको रिपोर्ट साउन ९ मा पोजिटिभ आयो । ट्रेसिङपछि परीक्षण गराउँदा परिवारका थप तीन जनालाई पनि कोरोना पोजिटिभ देखिएको ईडीसीडीले जनाएको छ ।

****

दुई साताअघि वीरगन्जबाट एक महिला उपचार गर्न ललितपुरको ताल्सिखेल आइन् । उपचार सुरु गर्नुअघि अस्पतालले स्वाब लियो । रिपोर्ट पोजिटिभ आयो । त्यसपछि उनका स्याहार गर्ने छोराको पीसीआर गर्दा उनलाई पनि पोजिटिभ देखियो । ट्रेसिङका क्रममा पीसीआर गर्दा परिवारका ५ वर्षीय बालक, १० वर्षीया बालिका, ३९ वर्षीया महिला र २ वर्षीय बालकलाई पनि कोरोना देखियो ।

****

यी तथ्यहरूले उपत्यकाबाहिरबाट आएका एक जनालाई कोरोना देखिएपछि परिवारका अरू सदस्यलाई पनि सरिरहेको देखाउँछ । ‘लकडाउन खुलेपछि भारत र प्रदेश २ लगायतका ठाउँबाट काठमाडौं उपत्यका आउने कतिपय व्यक्तिमा कोरोना देखिएको छ । ट्रेसिङ गर्दा उनीहरूको सम्पर्कमा आएका अरूमा पनि संक्रमण फेला परेको छ,’ ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले भने, ‘पछिल्ला दिनमा कार्यालयको काम, व्यापार, बैठक, भेटघाट भन्दै बाहिरबाट हुरहुरी उपत्यका छिर्नेहरू बढेका छन् ।’

बाहिरबाट काठमाडौं प्रवेश गरेका सैलुनमा काम गर्ने व्यक्ति, ड्राभइर, मजदुर, व्यापारीदेखि जनप्रतिनिधिसम्मको स्वाब काठमाडौंमा परीक्षण गर्दा कोरोना देखिएको छ । उपत्यकामा देखिएका संक्रमितमा पर्साको वीरगन्जबाट आएकालाई बढी देखिएको उनले बताए । त्यसपछि विराटनगर, बारा, सप्तरी, सर्लाही, महोत्तरीका रहेका छन् । संक्रमित प्रहरीमध्ये एक जना १४ दिनअघि विराटनगरबाट आएका थिए । अहिले प्रहरी प्रधान कार्यालयमा ४० भन्दा बढी संक्रमित छन् । ‘काठमाडौं प्रवेश गर्दा नाकामा लिएको रिपोर्ट आउन थालेसँगै उपत्यकामा संक्रमितको संख्या पनि बढेको हो,’ कोइरालाले भने ।

६ दिनमा बाहिरबाट आउने ३६ संक्रमित

ईडीसीडीका अनुसार काठमाडौं उपत्यकामा साउन ९ देखि १४ सम्म १ सय २८ जना संक्रमित देखिएका छन् । यसमा उपत्यकाबाहिरबाट आउने ३६ जनालाई कोरोना देखिएको हो । ती ३६ संक्रमितमध्ये ९ जना भारतबाट आएका हुन् । साउन ९ मा १३ जनालाई संक्रमण देखिएकामा १० जना उपत्यकाबाहिरबाटै आएका व्यक्ति रहेको ईडीसीडीले जनाएको छ । १० मध्ये दुई जना भारतबाट आएका हुन् । बुधबार २० जनालाई संक्रमण देखिएकोमा ११ जना बाहिरबाट आएका हुन् । ती ११ मध्ये २ जना भारतबाट आएका थिए । बिहीबार संक्रमित देखिएकाको भने विश्लेषण हुन बाँकी रहेको कोइरालाले बताए ।

संक्रमित धेरै, सार्वजनिक थोरै

स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा ४८ जना संक्रमित देखिएको विवरण सार्वजनिक गर्‍यो । तर, उपत्यकामा पीसीआर गरेर संक्रमित देखिएको संख्या भने ७० जना छन् । बुधबार पनि मन्त्रालयले १५ जना संक्रमित रहेको प्रेस ब्रिफिङमा जानकारी दिएको थियो । तर वास्तविक संक्रमित २० जना थिए । मंगलबार पनि काठमाडौं उपत्यकामा ५३ जना संक्रमित भएको भन्दै विवरण सार्वजनिक गरिएको थियो । तर, वास्तविक संक्रमित भने ६१ जना थिए । मन्त्रालयले सार्वजनिक गर्ने उपत्यकामा संक्रमित भनिएको तथ्यांकभन्दा बढी संक्रमित हुने गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए ।

‘हामीले सार्वजनिक गर्ने विवरण उपत्यकाबाहिरबाट आएलगत्तै काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखियो भने जुन ठाउँबाट आएको हो, त्यही जिल्लाको तथ्यांकमा समावेश गर्छौं,’ अधिकारीले भने, ‘ट्राभल हिस्ट्री नभएका र उपत्यकाबाहिर स्थायी ठेगाना भए पनि विगतदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गर्ने व्यक्तिलाई कोरोना पोजिटिभ देखियो भने मात्र उपत्यकामा संक्रमितको तथ्यांकमा समावेश गर्छौं ।’ उपत्यकामा दुई सातायता देखिएका संक्रमितमध्ये सबैजसो उपत्यकाबाहिर जिल्ला र भारतबाट फर्किने रहेको ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले बताए । ‘कोही गाडी रिजर्भ गरेर आउने, केही आफन्तसँग त केही निर्बाध रूपमा चलेको भाडाका गाडीमा आइरहेका छन्,’ उनले भने, ‘काठमाडौं आएपछि स्वाब दिँदा कोरोना पोजिटिभ देखिएको हो । नाकामा कडाइ नगर्ने हो भने उपत्यकामा व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

नाकामा गरिएको परीक्षणमा २४ संक्रमित फेला

‘घरबेटीको दबाबका साथै काममा फर्कन कार्यालयले पीसीआर गर्न पठाउने गरेकाले कोरोना पोजिटिभहरू पत्ता लाग्न थालेका हुन्,’ टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपतालका निर्देशक डा। सागर राजभण्डारीले भने । पछिल्लो समय पोजिटिभ देखिएका प्रायःले आफ्नै खर्चमा पीसीआर गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा प्रवेश गर्ने नागढुंगा, साँगा र फर्पिङ नाकामा पनि स्वाब संकलन सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीका अनुसार ८ हजार ४ सय १ जनाको स्वाब संकलन भइसकेको छ । तीमध्ये ३ हजार ४ सय ७३ जनाका नमुना परीक्षण हुँदा २४ जनामा पोजिटिभ देखिएको उनले बताए ।

उनका अनुसार साँगा नाका हुँदै आउने ४ सय ३० जनाको परीक्षण हुँदा ११ जनामा पोजिटिभ देखिएको हो । फर्पिङ हुँदै आउने ७ सय ४१ जनाको पीसीआर परीक्षण हुँदा १० जना र नागढुंगा हुँदै आउने २ हजार ३ सय २ जनाको पीसीआर परीक्षण हुँदा ३ जनामा कोरोना देखिएको हो । ‘यसरी नाकामा स्वाब लिँदा संक्रमित काठमाडौंमा भए पनि संक्रमितको विवरण जुन ठाउँबाट आएको हो, त्यही समावेश हुन्छ, यो व्यवस्थाले ट्रेसिङ गर्न सहज हुन्छ,’ उनले भने ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।