
विराटनगर । नेकपा एमाले कोशी प्रदेशले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ ।
गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ ।
प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएको बताए ।
उनले भने, ‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो । यसको निरन्तरता अब पनि दिइने छ ।’ उनले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको बताए ।
इन्चार्ज राईले भने ‘एमाले सरकारमा छ र सरकारको पैसामा कार्यक्रम गर्यो भन्ने पनि सुने । हामीले सरकारसँग एक रुपैयाँ पनि लिएका छैनौ । हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठुला ठुला सभाहरू गर्न सक्छौ ।’ उनले दमकमा भएको सभाबाट प्रतिगमनकारीको मुख बन्द भएको बताए ।
उनले भने– ‘एमालेले आयोजना गरेको विशाल सभाले प्रतिगमनकारीलाई जवाफ मिलेको छ ।’ स्थायी कमिटी सदस्य समेत रहेका राईले मञ्च र साउन्डका लागि ४ लाख रुपैयाँ, स्वमसेवक परिचालनका लागि ३ लाख रुपैयाँ, झन्डा, ब्यानर र पर्चाका लागि १ लाख रुपैयाँ खर्च भएको राईले बताए ।
यस्तै जनजागरण सभामा झाँकीका लागि ३५ हजार रुपैयाँ, प्रचार प्रसारका लागि १ लाख २० हजार रुपैयाँ र विविध गरेर १ लाख रुपैयाँ खर्च भएको छ । स्वयम सेवकहरुले लगाएको टोपी भने एमाले सुनसरीले उपलब्ध गराएको छ ।
नेकपा एमाले कोशीले शनिबार झापाको दमकमा जनजागरण सभा गरेको थियो । सभामा एमाले अध्यक्ष केपी शर्माले सम्बोधन गरेका थिए । सभामा प्रदेशका विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको थियो ।