५ श्रावण २०८३, मंगलवार
,
Latest
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण



अ+ अ-

पाल्पा । यसवर्ष रामपुर शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण गरिएको छ ।

रामपुर नगरपालिकाको व्यवस्थापनमा किसानले उत्पादन गरेको बीउ तथा खायन आलु सुरक्षित भण्डारण गरिएको हो । नगरपालिकाले सूचना जारी गरी गत चैत १८ देखि आलु भण्डारणका लागि शीतभण्डार खुल्ला गरेको थियो ।

भण्डारण कक्ष भरिएपछि २१ गते नै बन्द गरिएको छ । यसअघि पहिलो वर्ष बोलपत्रमार्फत व्यवसायीलाई, दोस्रो र तेस्रो वर्ष सूर्योदय कृषि सहकारीसँग सम्झौता गरेर शीतभण्डार सञ्चालन गरिएको थियो । हाल नगरपालिका आफँैले शीतभण्डारको व्यवस्थापन गरिरहेको छ ।

यहाँको शीतभण्डारमा छ सय ८२ किसान तथा कृषि सहकारी र समूहको गरेर दुई सय १० मेट्रिकटन आलु भण्डारण गरिएको नगरपालिकाको कृषिशाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । गत वर्ष एक सय ७० मेट्रिकटन आलु भण्डारण गरिएको उहाँले बताउनुभयो ।

यहाँ स्थानीय नगरपालिकासहित स्याङ्जाको चापाकोट नगरपालिकाका केही किसानबाट ल्याइएका आलुसमेत भण्डारण गरिएका छन् । नगरप्रमुख रमणबहादुर थापाले शीतभण्डारको सुविधा भएपछि किसानले उत्पादनमा जोड दिएको बताउनुभयो । यस क्षेत्रमा आलु बढी उत्पादन बढी हुने भएकाले नगरपालिकाले शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको र त्यसबाट किसान निकै लाभान्वित भएका उहाँको भनाइ छ ।

यसवर्ष रामपुर क्षेत्रमा प्रतिरोपनी सातदेखि आठ क्विन्टलसम्म आलु उत्पादन भएको छ । किसानबाट प्रतिकिलो रु छ भण्डारण शुल्क लिएर आलु राखिएको नगरपालिकाले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारमार्फत रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरेर विसं २०७८ देखि सञ्चालनमा ल्याइएको हो । पहिलो वर्ष परीक्षणको क्रममा प्राविधिक समस्याका कारण केही समस्या भए पनि पुनः मर्मतपश्चात् दोस्रो र तेस्रो वर्ष भण्डारण गरिएको आलु राम्रो भएको कृषि शाखा प्रमुख गैरेले बताउनुभयो ।

नगरपालिकाले शीतभण्डारको रेखदेख, तापक्रममा तथा उपकरणको निरीक्षणका लागि एकजना दैनिक हेरालु राखेको छ । भण्डार केन्द्रमा फरक–फरक क्षमताका पाँच कोठा छन् । हाल पाँचवटै कोठा आलुले भरिएका छन् । सञ्चालनका लागि मासिक रु ५० देखि ६० हजारसम्म विद्युत् महसुल लाग्ने गरेको नगरपालिकाले जनाएको छ ।

शीतभण्डार सञ्चालन हुनुअघि यहाँका किसानले भैरहवा, गल्याङ, पोखरालगात स्थानमा आलु भण्डारण गर्दै आएका थिए ।