२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछि हटे ट्रम्प, भन्सार शुल्क लगाउने निर्णय ९० दिनका लागि स्थगित



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले ७५ भन्दा बढी देशमाथि लगाएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि स्थगित गरेका छन् । उनले नयाँ व्यापार वार्ताको अवसर प्रदान गर्न एक हप्ताअघि गरेको निर्णय उल्ट्याउनु परेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले चीनलाई भने यो छूटमा समावेश गरेका छैनन् । बरु चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्‍याएका छन् । ट्रम्पले यो निर्णय चीनले अमेरिकामाथि लगाएको ८४ प्रतिशत जवाफी भन्सार शुल्कपछि लिएका हुन् ।

ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘चीनले विश्व बजारप्रति आदर देखाएको छैन, त्यसैले म चीनमाथिको भन्सार शुल्क बढाएर १२५ प्रतिशत कायम गर्दैछु । यो निर्णय तत्काल लागू हुनेछ । चीनले अब अमेरिका र अन्य देशहरूलाई लुट्ने दिनहरू सकिएका छन् भनेर बुझ्नेछ भन्ने आशा छ ।’

ट्रम्पले अमेरिकासँग संवाद गर्ने देशलाई कर घटाउने संकेत गरेका छन् ।

‘७५ भन्दा बढी देशहरूले अमेरिकासँग सम्पर्क गरेका छन् र मेरा सशक्त सुझावमा अमेरिका विरुद्ध कुनै जवाफी कदम चालेका छैनन् । त्यसैले मैले ९० दिनका लागि भन्सार कर रोक्ने निर्णय गरेको हुँ। यसले नयाँ व्यापार सम्झौताहरू गर्न समय दिनेछ,’ उनले भने ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि यस्तै तर्क अगाडि सारेका छन् । उनले भने, ‘जुन देशहरू अमेरिकासँग वार्ता गर्न इच्छुक छन्, उनीहरूमाथि भन्सार शुल्क १० प्रतिशत मात्र लाग्नेछ — जसमा क्यानडा र मेक्सिको पनि पर्छन्।’

भन्सार शुल्कका कारण विश्व बजारमा १० लाख करोड डलरको गिरावट आएको थियो। तर निर्णय उल्टिएपछि अमेरिकी सेयर बजारको मूल्य ३.१ लाख करोड डलरले बढेको छ ।

ट्रम्पनिकट धेरै सल्लाहकार र इलोन मस्कले पनि भन्सार शुल्क रोक्न सल्लाह दिएका थिए । रिपब्लिकन पार्टीका नेताहरू — मिच म्याककोनल, र्‍यान्ड पउल, सुसन कोलिन्स, लिसा मर्कोभस्कीले भन्सार शुल्कलाई ‘असंवैधानिक, अर्थतन्त्रविरोधी र कूटनीतिक रूपमा खतरनाक’ भनेका थिए ।

भन्सार शुल्क वृद्धिले अमेरिकी बन्डहरूमा अप्रत्याशित बिक्री सुरु भएको थियो । क्रूडको मूल्यमा भारी गिरावट आएको थियो । कोरोना कालको जस्तो अवस्था आउन थालेको थियो ।

वाल स्ट्रिटका बैंकहरूले भन्सार शुल्कका कारण मूल्यवृद्धि, बेरोजगारी र आर्थिक मन्दी अमेरिका भित्रिने चेतावनी दिएका थिए ।

ट्रम्पले भन्सार शुल्क रोकिने घोषणा गर्नु भन्दा ४ घण्टा अघिनै ट्रुथ सोशलमा लेखेका थिए, ‘यो किनमेल गर्ने उत्कृष्ट समय हो ।’

त्यसपछि भन्सार शुल्क रोक्ने निर्णय आएपछि बजारमा व्यापक सुधार आयो।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार डाउ जोन्स २,६०० अंक (७.१ प्रतिशत) माथि उकालो लाग्यो भने एसएन्डपी ५०० मा ९.५ प्रतिशतले वृद्धि भयो ।

नास्डाक १,५३६ अंक (१०.३ प्रतिशत)ले उकालो लाग्यो । यो सन् २००८ को मन्दीपछि सबैभन्दा ठूलो वृद्धि हो ।

टेस्लाको सेयरमा सबैभन्दा बढी २०.०१ प्रतिशत वृद्धि भयो । बिटकोइन पनि ६ प्रतिशतले बढ्यो । एक दिन अघि भन्सार शुल्क युद्धले बजारमा ४ प्रतिशतसम्मको गिरावट ल्याएको थियो ।