२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास फेर्नै सकस, कहिले पर्छ पानी ?



अ+ अ-

काठमाडौं । एक सातादेखिको उच्च वायु प्रदूषणका कारण काठमाडौं उपत्यकाभित्रको आकाश धुम्म छ । धुवाँको मुस्लोमा स्वाफ फेरेको जस्तो अवस्था छ । मानिसहरु हिँडडूल गर्नसमेत डराइरहेका छन् । प्रदूषण कम होला कि भन्ने आशा गरेर बसे पनि अझै ज्यूँका त्यूँ छ । सोमबार साँझ यहाँको वायु प्रदूषणको मात्रा एक्यूआई २ सय ६२ पुगेको थियो । जुन वायु गुणस्तरको खतरनाक तह हो ।

काठमाडौं सहर सोमबार पनि विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा छ । काठमाडौं आसपासका जिल्लामा फैलिएको डढेलोले हावा प्रदूषित बनेको छ । कतिसम्म भने गत बिहीबार काठमाडौंको वायुको गुणस्तर ३८४ एक्यूआईसम्म पुगेको थियो । जुन मानव स्वास्थ्यका लागि अति हानीकारक हो ।

लगातार काठमाडौंका हावा प्रदूषित बनिरहँदा यसलाई कम गर्न सरकारसँग कुनै योजना छैन । न त सरकारले कुनै निर्णय नै गर्न सकेको छ । वातावरणविद्हरुले डढेलो नियन्त्रणमा उपाय अपनाउन र यातायातमा जोरबिजोर प्रणाली अपनाउन सुझाव दिएका छन् ।

अहिले डढेलोले मात्र होइन, सवारीसाधन, उद्योग, कृषि अवशेष जलाउने कामले प्रदूषण बढाइरहेको छ । त्यसमाथि काठमाडौंमा लामो समयदेखि वर्षा हुन सकेको छैन । पानी नपरिकन प्रदूषण कम हुने सम्भावना पनि छैन ।

वायु प्रदूषण बढेर नागरिकको जीवन नै जोखिममा परेको सन्दर्भ पारेर वातावरण पत्रकार समूहले सोमबार वातावरणसँग जोडिएका विभिन्न संघ/संस्था र विज्ञसँग ‘वायु प्रदूषणको कहर: जवाफदेही को ?’ भन्ने अन्तरक्रिया गरेको थियो । कार्यक्रममा विज्ञहरुले प्रदूषण न्यूनीकरणका उपाय तत्काल निकाल्न सरकारलाई सुझाएका छन् ।

वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासले हरेक वर्षको सुख्खा याममा डढेलोलगायतका अन्य कारणले प्रदूषणको समस्या बढ्ने तथ्य र प्रमाणहरू भए पनि जटिल भएपछि मात्रै समस्याका उपाय खोज्नु व्यवहारिक बताए । ‘हामी खराब हावामा सास लिइरहेका छौं,’ उनले भने, ‘नेपाल, भारत, बंगलादेश, पाकिस्तान हरेक वर्ष प्रदूषणको जोखिममा छन्, समाधानका उपाय खोज्न ढिलो गर्नु हुँदैन ।’ विश्वमै खुला ठाउँमा कृषि अवशेष जलाउने काममा नेपालको भूमिका २ प्रतिशत छ । विस्थापित गर्ने भनिएका युरो–१ र युरो–३ मापदण्डका सवारी साधनले फाल्ने धुँवा, उद्योग कलकारखानाबाट निस्कने प्रदूषणलाई समस्याका नियमित कारण बनिरहेका उनले बताए ।

यसैगरी अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार गत यही ८ चैत (गत २१ मार्च)देखि हरेक दिन काठमाडौं र नेपालका अन्य भेगको प्रदूषण निरन्तर खस्किरहेको छ । नेपालमा हरेक वर्ष जनवरीदेखि अप्रिल महिनासम्म प्रदूषण बढ्ने गर्छ । यसमा अन्तरदेशीय कारण पनि रहेको इमिमोडकी वायु गुणस्तर विज्ञ डा.खुश्बु शर्माले बताइन् ।

वायुको गुणस्तर एक्यूआई २ सयभन्दा माथि पुगेपछि मानव स्वास्थ्यका दृष्टिले निकै जोखिम मानिन्छ । तर चैत २३ भक्तपुरमा एक्यूआई ३ सय ६५ पुगेको थियो ।

हरेक वर्ष नेपालीहरूको कूल मृत्युको १९ प्रतिशत कारण श्वासप्रश्वास (प्रदूषण) सँग जोडिएको र प्रदूषणका कारण ४.८ प्रतिशतका दरले नेपालीहरूको औसत आयु घटिरहेको अध्ययनले देखाएको छ ।

पछिल्लो छ महिनादेखि काठमाडौंमा पानी पर्न सकेको छैन । पश्चिमी वायु सक्रिय नहुँदा पानी पर्न नसकेको हो । तर अब चाँडै पानी पर्ने संकेत देखिएकाले वायु प्रदूषण कम हुने आशा जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।