
काठमाडौं । यही मार्च महिनाको १८ तारिखमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एश जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको थियो । उहाँहरुका बीचमा त्यस समय एक्लाएक्लै भेटवार्ता भएको थियो ।
भारतीय विदेश मन्त्रालयको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित राइसिना डायलगको १० औँ सम्मेलनका क्रममा उहाँहरुका बीचमा साइडलाइन भेटवार्ता भएको थियो । त्यसक्रममा उहाँहरुबीच नेपाल भारत सम्बन्धका विविध विषयहरुका अतिरिक्त बैंककमा आयोजित आसन्न बिमस्टेक बैठक र त्यहाँ दुई देशका प्रधानमन्त्रीको भेटवार्ताका विषयमा पनि कुराकानी भएको थियो ।
प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा द्विपक्षीय भेटका लागि परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतीय विदेशमन्त्री समक्ष प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा भारतीय विदेशमन्त्री डा जयशंकरले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । छैठौँ शिखर सम्मेलनमा नेताहरुका बीचमा साइडलाइन भेटवार्ता त भइनै हाल्छ, तर पनि प्रधानमन्त्री ओली र मोदीका बीचमा भने आपसी हितका समसामयिक एजेण्डासहित नै भेटवार्ताका लागि उहाँहरुले कुराकानी गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री डा राणाले प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई सगरमाथा सम्वादको निमन्त्रणा पनि गर्नुपर्ने र दुई देशबीचका परराष्ट्रमन्त्रीबीचमा यसअघि भएका वार्ताहरुका एजेण्डा र प्रगतिको पनि समीक्षा र सम्बोधन गर्ने गरी नै भेटका लागि मन्त्री डा राणाले भारतीय विदेशमन्त्रीसँग अनुरोध गर्नुभएको थियो । त्यस लगत्तै नेपाल फर्किएपछि मन्त्री डा राणाले परराष्ट्र सचिवलाई प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीका बीचमा बैंककमा हुने द्विपक्षीय भेटवार्ताका विषयमा कुराकानी भएकाले त्यसलाई मन्त्रालय मार्फत् फलो गर्न भन्नुभएको थियो । सोही बमोजिम मन्त्रालयले सो विषयमा फलो गरेको थियो ।
सोही बमोजिम नै बैंककमा दुई प्रधानमन्त्रीबीच भेटघाट र वार्ता भएको छ । उहाँहरु झण्डै ४० मिनेटजति नै वार्ता गर्नुभएको थियो । सो वार्ता उहाँहरुबीच एक्ला एक्लै भएको थियो । उक्त वार्ताका एजेण्डाहरुलाई भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालको पेजबाट सार्वजनिक पनि गर्नुभएको छ । यसअघि पनि गएको असोज महिनामा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा गएका बेला परराष्ट्रमन्त्री डा राणाको विशेष अनुरोधमा न्युयोर्कमा दुई देशका प्रधानमन्त्रीको भेटवार्ता भएको थियो । त्यसपछि बैंककमा उहाँहरुबीच हिजो भेट भएको हो ।
नेपालमा नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा आउने गरेको कूटनीतिक प्रचलन छ । तर यस पटक भने भारतले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो प्राप्त भएको छैन । वर्तमान सरकार गत असार ३० गते गठन भएको हो