
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा पक्राउ परेको सुचना सदनलाई जानकारी गराउने भएका छन् ।
राजवादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएपछि जबरा गत शुक्रबार राति पक्राउ परेका थिए ।
जबरा पक्राउ परेको सूचना यसअघि नै प्रहरीले संसद् सचिवालयमा पठाईसकेको छ । संविधानको धारा १०३ को उपधारा ३ बमोजिम सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ ।
सांसद पक्राउ परेको सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले संसद्मा जानकारी गराउनुपर्ने व्यवस्था छ । सोहिअनुसार आज सभामुखले जानकारी गराउन लागेका हुन् ।
अहिले सभामुख घिमिरे सदनको अवरोध हटाउन प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै बुधवारबाट सदन अवरोध गर्दै आएका छन् ।