१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.03

Humidity: 62

तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसात्मक गतिविधि बन्द गर्न आयोगको आग्रह



अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टिकाराम पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गर्नुभएको हो ।

उहाँले कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै सरकारलाई  हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेको छ ।

“समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले आज चैत १५ गते उपत्यकामा गरेको प्रदर्शन र आमसभाको आयोगले चार वटा उच्चस्तरीय टोलीहरू बनाइ अनुगमन गरेको थियो”, उहाँले भन्नुभएको छ, “काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थकद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको छ ।”

आयोगले अनुगमन गर्दा प्रदर्शनकारी तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको, व्यक्तिको घरमा ढुङ्गा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको जनाइएको छ ।

आयोगले झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेका दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुङ्गा प्रहार गरेका आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता डा पोखरेलले अनुगमनका क्रममा हिँडेको आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीबाट कोटेश्वरमा साङ्घातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएका बताउनुभयो ।

“प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाइ फायर गरेको तथा व्यक्तिको निजी आवास प्रयोग गरी अश्रु ग्यास प्रहार गरेको देखिएको छ,” उहाँले भन्नुभएको छ ।

आयोगले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भएता पनि आफ्नो अधिकारकोे प्रयोग गर्दा अरुको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जाने बताएको छ । रासस