४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दुई छोरा पहिराले पुरिएपछि दमाई परिवार शोकमा

दुई छोरा पहिराले पुरिएपछि दमाई परिवार शोकमा
सांकेतिक तस्बिर
अ+ अ-

दार्चुला । घरको सहाराका रूपमा रहेका दुई छोराको मृत्युपछि लेकम गाउँपालिका–५ का ५८ वर्षीय सानो दमाईको परिवार बिचल्लीमा परेको छ । यही साउन ६ गते मालिकार्जुन गाउँपालिका–८ मा पहिरामा पुरिएर उहाँका दुई छोरा २४ वर्षीय अर्जुन र १८ वर्षीय मिलनको मृत्यु भएको थियो । छोराको मृत्युपछि दमाई परिवार अहिले बिचल्लीमा छ । 

घरको ऋण तिर्न भन्दै दिदी घरमा सिलाइ गर्न उनीहरु शङ्करपुर पस्ती गएका थिए तर उनीहरुले काम गर्ने ठाउँमा पहिरो आएपछि दुवै जना त्यही पहिरामा पुरिएर ज्यान गुमाए । उनीहरुको घर बनाउँदा परेको रु दुई लाख ५० हजार ऋण तिर्न बाँकी थियो । जनता आवास कार्यक्रमले घर नभएका विपन्न दलित परिवारलाई घर बनाउन शुरु गरेको थियो । जनता आवास कार्यक्रममार्फत आएको रु एक लाख ८० हजारबाट घर निर्माण हुन सकेन । पूरै निर्माण गर्न गाउँबाट ऋण निकाले । 

घरको ऋण तिर्ने चिन्ता भएपछि उनीहरु सिलाइ व्यवसाय गर्न मालिकार्जुन गाउँपालिकाको पस्ती गएका थिए तर त्यही पहिराले घरको ऋण तिर्ने सपना अधुरै रह्यो । “छोराको पहिरामा पुरिएर मृत्यु भएको खबरलगत्तै उनीहरुकी आमा ५७ वर्षीया भुरा दमाईले मर्न खोज्नुभयो । आफैँले ढुङ्गाले हानेर टाउको फुटाउनुभयो । जेनतेन उहाँलाई बचाउन सकिएको छ”, स्थानीयवासी अनिल परिवारले भन्नुभयो, “मान्छेले देखेपछि उहाँलाई जोगाइहाले ।”

स्व अर्जुनकी २२ वर्षीया श्रीमती कलावती अझै अचेत अवस्थामा हुनुहुन्छ । घरमा न कोही बोल्छन्, न हाँस्न सक्छन् । मानसिकरूपमा कमजोर हुँदै गएका छन् । कलावतीका दुई छोरी साढे चार वर्षकी प्रियङ्का र दुई वर्षकी मौसमी छन् । घरमा सानो दमाईकी कान्छी छोरी १२ वर्षीया सञ्जु छिन् । घरको सहारा तथा कमाउने मान्छे नभएपछि दमाई परिवार अहिले कसरी बाँच्ने भन्ने चिन्तामा छ । “घरमा साहस दिने मान्छे नै भएनन्”, अनिलले भन्नुभयो, “पूरै परिवार अचेत जस्तै छ । बूढेसकाल लागेका बूढाबूढीले नातिनीहरु पाल्नुपर्ने अवस्था छ ।” 

सानोकी छोरी कक्षा ७ मा पढ्दैछिन् । नातिनीहरु पनि पढ्ने उमेर हुँदैछ तर पढाउने कसरी, घरको ऋण कसरी तिर्ने चिन्ताले पूरै परिवार शोकमा डुबेको छ । “घरमा पुगेपछि के खाने भन्ने छ, उनीहरुको दयनीय अवस्था देखेरै गाउँका युवाबाट सहयोग सङ्कलन अभियान चलाएका छौँ”, अनिलले भन्नुभयो । अनिलका अनुसार ४०÷४५ हजार रुपैयाँ सङ्कलन भएको छ । युट्युबमार्फत अभियान चालिएको छ । अहिलेसम्म स्थानीय सरकारले उनीहरुलाई सहयोग गर्नेतर्फ चासो नदिएको उहाँको गुनासो छ । “घरमा कमाउने मान्छे नभएपछिको पीडा देखेका छौँ, मालिकार्जुन गाउँपालिकाले किरिया खर्च उपलब्ध गरायो तर लेकम गाउँपालिकाले दमाई परिवारलाई सहयोग गरेको छैन”, उहाँले भन्नुभयो । 

अर्जुनकी आमा भुरा र श्रीमती कलावतीको अवस्था नाजुक बन्दै गएको छ । घरमा सानो दमाई मात्रै मान्छेसँग बोल्छन् । पूरै घर अन्धकार भएजस्तो देखिन्छ । “छोरीले बुबा खोज्छन्”, सानो दमाईले भन्नुभयो, “कसलाई बुबा भन्नु ? बुहारी बोल्दिनन्, मानसिक अवस्था नराम्रो हुँदै गएको छ । घरमा सम्झाउने कसले ? मेरै श्रीमती ‘छोरा मरे, कोख रित्तो भयो’ भन्दै मर्न खोजी । बल्लतल्ल बचाइयो ।” घरमा परेको अप्ठ्याराका कारण काम गर्न साहस नआएको उहाँले बताउनुभयो । “ऋण तिर्ने कसरी, परिवारको खर्च जोहो केले गर्नु ?” उहाँले भन्नुभयो, “कमाउने दुवै छोरा मरेर गइहाले, कसका लागि हामीले जिउने ?”