८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday
Latest
सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे विराट कोहलीको आईपीएल कीर्तिमान तोड्दै रोहित शर्मा नम्बर–१ बने पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्छः एमाले सांसद पन्त वैभव सूर्यवंशीः छोराको क्रिकेट सपना पूरा गर्न बुबाले आफ्नो कृषियोग्य जग्गा बेचे शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरू परीक्षा र एलेक्सको पात्र परिचय बूढानीलकण्ठमा झाडीभित्र पुरुषको शव फेला शिक्षक आन्दोलन: पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्‍यो: युक्रेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा आठ महिनामा १७९ जना क्षयरोगी भेटिए



अ+ अ-

ढोरपाटन, (बागलुङ) । यहाँ हरेक वर्ष क्षयरोगका सङ्क्रमित बढ्दै गएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदै गएपछि सङ्क्रमितको सङ्ख्या पनि बढेको हो ।

दूरदराजका बस्तीमा क्षयरोगसम्बन्धी जनचेतनाको कमीका कारण सङ्क्रमण बढ्दै गएको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । जिल्लाभर चालु आर्थिक वर्षको आठ महिनामा १७९ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले दिनुभयो ।

घिमिरेका अनुसार अघिल्लो वर्ष मात्रै ३१० जनामा सङ्क्रमण देखिएको थियो । क्षयरोगको ‘स्क्रिनिङ’ र ‘कन्ट्र्याकट्रेसिङ’ गर्न बाँकी रहेकाले क्षयरोगी अझै बढ्ने अनुमान गरिएको उहाँले उल्लेख गर्नुभयो ।

सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको सरकारले खोजी अभियानलाई पनि तीव्रता दिइरहेको घिमिरेको भनाइ छ । अघिल्लो वर्ष बडिगाड गाउँपालिकामा सबैभन्दा बढी २२७ सङ्क्रमित भेटिएका बताउँदै यस वर्ष बडिगाडमा खोजी गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष क्षयरोगका कारण जिल्लाका १० जनाले ज्यान गुमाएका छन् । यस वर्ष सबैभन्दा बढी ढोरपाटनमा ४३ सबैभन्दा कम तमानखोलामा तीन जना सङ्क्रमित भेटिएका जनाउँदै घिमिरेले पछिल्लो समय खोजपड्ताल पनि बढाइएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “क्षयरोग समयमा पत्ता लगाएर उपचार गरे निको हुन्छ, जिल्लामा जनचेतनाको अभावले सङ्क्रमण फैलँदो छ, बागलुङमा निको हुने दर ९० दशमलव चार प्रतिशत छ । उपचारसँगै नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ”, निरीक्षक घिमिरेले भन्नुभयो, “हामीले यहाँका नागरिकलाई सचेत गराइरहेका छौँ, सम्भावित सङ्क्रमितमध्ये ६८ प्रतिशत मात्रै भेटिएकाले खोजपड्ताललाई तीव्रता दिएका छौँ । बागलुङमा देशभरको तुलनामा मृत्युदर कम छ ।”

सङ्क्रमण नियन्त्रणका लागि बढी सङ्क्रमित भएको ठाउँबाट खोजपड्ताल अभियानलाई तीव्रता दिइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा जिल्लाका गलकोट नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकालाई क्षयरोगमुक्त बनाउने अभियान सञ्चालन गरिएको छ । रासस