
रुपन्देही। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी विजयी भएका छन् ।
गण्डकीले मधेसलाई प्रतियोगिताको पहिलो सुपर ओभरमा हराएको छ भने सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । गण्डकीले जिते पनि सबै खेलमा ४ अङ्क मात्र बटुल्दै बाहिरिएको छ भने अन्तिम खेल खेलेको लुम्बिनी पराजित हुँदै बाहिरिएको छ ।
जारी प्रतियोगितामा आज पहिलो सुपर ओभर खेलाइएको हो । मधेस प्रदेश र गण्डकी प्रदेशबिचको खेल बराबरीमा टुङ्गिए पछि खेलको छिनोफानो गर्न सुपर ओभर खेलाइएको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा २४७ रनको लक्ष्य लिई मैदान प्रवेश गरेको गण्डकीेले ५० ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन आवश्यक रहे पनि सन्दिप अर्याल रन आउट भए । तर त्यस अघि नै एम्पायर सञ्जय गुरुङ्गले बललाई वाईड दिइसकेकाले गण्डकीले १ अतिरिक्त रन पाउँदै खेल बराबरीमा टुङ्गिएको थियो ।
सुपर ओभरमा पहिला ब्याटिङ गर्दै गण्डकीले २२ रन बनाएको थियो । २३ रनको लक्ष्य मधेसले भेट्टाउन सकेन । उसले सुपर ओभरमा ९ रन मात्र बनाउन सक्यो र अन्ततः गण्डकी प्रदेश सुपर ओभरमा विजयी भयो । यस अघि गण्डकीका लागि अर्जुन कुमालले शतक प्रहार गरे । उनले १४० बलको सामना गर्दै १० चौका र १ छक्काको सहयोगमा १०६ रन बनाए । यसैगरी गण्डकीका लागि दिनेश बुढामगर र सुदिप अर्यालले ३४/३४ रन र सुभास भण्डारीले १३ रन बनाए ।
बलिङमा मधेशका विशाल पटेलले ४ विकेट लिँदा रुपेश सिंह, रञ्जित कुमार, प्रदिप पासवान र पवन सर्राफले १/१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको मधेस प्रदेशले रोहन विक, हरिशङ्कर साह र रुपेश सिंहको अर्धशतकको सहयोगमा ७ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । मधेसका लागि रोहन बिकले ९८ बलको सामना गरी ६ चौका र ३ छक्काको सहयोगमा ६४ रन बनाए । हरिशंकर साह र रुपेश सिंहले समान ५१/५१ रन बनाए भने पवन सर्राफले ३३ रन बनाए ।
बलिङमा गण्डकी प्रदेशका बिपिन खत्री र कमल परियारले समान २/२ विकेट लिँदा अमित गुरुङ र सन्दिप पराजुलीले १/१ विकेट लिए । प्रतियोगितामा ७ खेल खेलेको मधेस २ मा जित र ५ मा हार गरी ४ अंक हासिल गरेको छ भने ९ खेल खेलिसकेको गण्डकी मात्र २ मा जित हासिल गरी ४ अङ्क प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
आजै सम्पन्न दोस्रो खेलमा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । लुम्बिनीले दिएको २२४ रनको लक्ष्य सशस्त्रले ४१.५ ओभरमा ३ विकेटको क्षतिमा हासिल ग-यो । सशस्त्रका लागि कप्तान रोहित पौडेल र पुरन विकले अर्धशतक बनाए । पुरन विकले ११२ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा अविजित ७२ रन बनाए भने रोहित पौडेलले ९४ बल खेल्दै ७ चौकाको सहयोगमा ७१ रन जोडे । सशस्त्रका लागि सन्दिप जोराले अविजित २१ रन र लोकेश बमले २१ रन बनाए ।
रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गर्दै लुम्बिनी प्रदेशले कप्तान देव खनाल र मृनाल गुरुङको अर्धशतकको सहयोगमा ८ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ७९ बलको सामना गरी ४ चौकाको सहयोगमा ६३ रन बनाउँदा मुनाल गुरुङले ८७ बलको सामना गरी ४ चौकाको सहयोगमा ५५ रन बनाए । आकाश त्रिपाठीले २२ रन र प्रज्ज्वल थापाले २० रन बनाए ।
लुम्बिनी प्रदेशले ४ खेल जित र ५ मा हारसहित ८ अङ्क ल्याएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसै गरी ८ खेल खेलेको सशस्त्र प्रहरीले थप २ अङ्क जोड्दै फाइनल पुग्ने सम्भावना छ । सशस्त्रले ८ खेलमा ६ मा जितसहित १२ अङ्क ल्याएको छ । अझै एक खेल खेल्न बाँकी छ ।
प्रतियोगितामा हालसम्म सबै ७ वटा खेलमा अविजित रहँदै नेपाल पुलिस क्लब १४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने ८ खेल खेलेको त्रिभुवन आर्मी क्लब ७ खेलमा जित निकाल्दै १४ अङ्कका साथ दोस्रो स्थानमा छ ।
प्रतियोगिताको शीर्ष २ टोलीले यही चैत १६ गते फाइनल खेल्नेछ । मङ्गलबारको खेल रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ । रासस